साढे १४ अर्बको आइपीओ जारी गर्न अनुमति, कुन कम्पनीको कति कित्ता ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण सेयर (आइपीओ) विक्रीको अनुमति दिएको छ ।

 

बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर विक्री गर्न पाउने अनुमति पाएको छ ।

 

बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण सेयर विक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ ।

 

बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको अवस्था छ ।

 

यस्तै ७ लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत १ वर्षको अवधिमा साढे ३ गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले ५ लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

 

पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण सेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

 

धितोपत्र बजार अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोवारमा सक्रियता देखाएका छन् ।

 

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

 

बोर्डका अनुसार चालू आवको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत सङ्कलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

 

बोर्डका अनुसार चालू आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण सेयर विक्री गर्यो ।

 

यस्तै समाज लघुवित्तले ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता साधारण सेयर विक्री गरेको थियो । बोर्डबाट अनुमति पाउनेमा ५ जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर विक्री गरेको थियो । उक्त परिमाणको सेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई विक्री गरिएको थियो ।

 

ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर विक्री गर्यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण सेयर विक्री गर्नेमा रुरु जलविद्युत् परियोजना हो । सो कम्पनीले ८ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण सेयर विक्री गर्यो ।

 

सीइडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण सेयर विक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण सेयर विक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण सेयर विक्री गर्दैछ । साधारण सेयर विक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो बैंकले ८ अर्ब बराबरको साधारण सेयर चालू आवमा विक्री गरेको हो ।

 

यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण सेयर विक्रीको अनुमति पाएको छ । सो कम्पनीले १ अर्ब ५० करोड बराबरको साधारण सेयर विक्री गर्दैछ ।

 

बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजश्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले १ अर्ब बराबरको योगदान पुर्याउने गरेकामा हाल महिनामै सो भन्दा बढी रकम सङ्कलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ ।

अबको ५ महिनामा नेपालले कहाँबाट कति खोप भित्र्याउँदै छ ? Read Previous

अबको ५ महिनामा नेपालले कहाँबाट कति खोप भित्र्याउँदै छ ?

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी Read Next

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी