काठमाडौं । निर्माण शुरु भएको ७ वर्षमा पनि चाबहिल-साँखु सडक निर्माण पूरा हुन सकेको छैन । पटकपटक ठेक्का म्याद थपिए पनि ठेकेदारको लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद लगायत कारण निर्माण पूरा हुन नसकेको हो ।
हालसम्म चाबहिल–साँखु सडकखण्डको ७५ देखि ८० प्रतिशत काम पूरा भएको छ भने अझै २० प्रतिशत काम बाँकी रहेको छ । यस सडकखण्डमा अझै ३ किलोमिटर सडक विस्तार हुन बाँकी रहेको छ ।
कुल ११.६ किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्डको अझै ३ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ ।
डाँछी, थली र कुथौली गरी तीन स्थानमा अझै सडक विस्तारको काम सम्पन्न हुन नसकेको हो । बजार बस्ती भएका कारणले सो स्थानहरुमा अझै काम सम्पन्न हुन नसकेको उपत्यका विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले बताए ।
४ वटा ठेकेदार मध्ये ३ ठेकेदारले गरिरहेको काम अझै सम्पन्न हुन नसकेको हो । कुल ११.६ किलोमिटर लम्बाइ रहेको चाबहिल–साँखु सडक विस्तारमा ३ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको यादवले बताए ।
‘अब ३ किलोमिटर मात्र सडक निर्माण गर्न बाँकी छ, त्यहाँ बजार वस्ती भएकाले केही अवरोध छ त्यस्ले गर्दा कामले गति लिन सकेको छैन,’ यादवले चाणक्य पोष्टसँग भने ‘आगामी आर्थिक वर्षमा जसरी पनि पूरा हुन्छ ।’
चालू आर्थिक वर्षमा उक्त खण्डमा करिब १८०० मिटर मात्र सडक विस्तारको काम भएको छ । २०७२ सालमा शुरु भएको यस चाबहिल–साँखु विस्तार आयोजना अन्तर्गत हाल ३ खण्डमा काम बाँकी रहेको छ ।
बज्रगुरु/च्याङमिला/खानी जेभी अन्तर्गत २.४०० किलोमिटर सडक मा ७० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ६४.१३ प्रतिशत वित्तीय प्रगति भएको छ । २३ करोड ८ लाख ९८ हजार रुपैयाँ निर्माण खर्च छुट्याइएको थियो । आयोजनामा हालसम्म २५ करोड ८६ लाख ८७ हजार रुपैयाँ खर्च भइसकेको छ ।
बज्रगुरु/विरुवा/खानी जेभी ले ३ किलोमिटर सडक विस्तारकोजिम्मा लिएकोमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ । ५१.९४ प्रतिशत वित्तिय प्रगति भएको छ । आयोजनाको कुल लागत २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । सो मध्ये हालसम्म ३० करोड ९० लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ ।
बीटी/सुनकोशी/वल्र्डवाईड जेभीले २.४६० किलोमिटर सडक विस्तारको आयोजना ठेक्का लिएको थियो । सो आयोजना अन्तर्गत ७० प्रतिशत भौतिक प्रगति भएको छ । सो खण्डमा ६३.२४ प्रतिशत वित्तिय प्रगति भएको छ । उक्त खण्डका लागि २० करोड ३२ लाख ७८ हजार रुपैयाँ लागत खर्च तोकिएको थियो । हालसम्म सो खण्डमा २१ करोड ९७ लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ ।
युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरर्स प्रालिले ३.६०० किलोमिटर सडकमा विस्तारको काम सकिसकेको जनाइएको छ । सो अन्तर्गत ३१ करोड ६४ लाख २३ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ खर्च भइसकेको प्रधिकरणले जनाएको छ ।
हालसम्म सडकमा कुल लगानीको ६५ प्रतिशत बढी रकम खर्च भएको छ । १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ लगानीमा बन्दै गरेको सो सडक खण्डमा हालसम्म ९७ करोड रुपैयाँ खर्च भइसकेको छ ।
ठेकेदार कम्पनीले काम सकेपछि पनि त्यसको १ वर्षसम्म सडक बिग्रे, भत्केको अवस्थामा ठेक्का कम्पनी आफैले बीना भुक्तानी मर्मत गर्नुपर्नेछ ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाईमा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । स्थानियहरुले सडक विस्तारका क्रममा घरहरु भत्काउन नदिएपछि यथास्थितिमा निर्माण गर्न लागिएको हो ।
विगत वर्षमा पनि कोभिड १९ का कारण उपत्यका सडक विस्तार आयोजनाले गति लिन सकेको थिएन । चालू आवमा पनि फेरि कोभिड १९ को दोस्रो लहर आएर निषेधाज्ञ भएका कारण भने जस्तो उपलब्धी हुन नसकेको प्राधिकरणका सूचना अधिकारी यादवले बताए ।