‘बोर्डले वास्तविक अवस्थाको ख्याल नै नगरी हाइड्रोको सेयरमा जोेखिम छ भन्यो’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको सेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

 

इपानले एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिसेयर मूल्य आम्दानी र प्रतिसेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

 

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको सेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए।

 

बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए ।

 

जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । उता बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले पनि नियामक निकायले कारवाही गर्ने विषयलाई नजरअन्दाज गरी सेयरमा लगानी गर्नु जोखिम रहेको भनी सार्वजनिक गरेकामा ध्यानकर्षण भएको जनाएको छ ।

 

सो संस्थाका प्रवक्ता भोजबहादुर शाहले जारी गरेको विज्ञप्तिमा संस्थागत पहिचान र प्रतिष्ठामा आँच नपुग्ने र लगानीकर्तामा मनोवैज्ञानिक त्रास नहुने गरी बोर्डले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, समाधान गर्न कार्यदल गठन हुने Read Previous

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, समाधान गर्न कार्यदल गठन हुने

नेपालमै पहिलो पटक विद्युतीय सवारी एसेम्बल प्लान्ट निर्माण गर्दै सुन्दर यातायात Read Next

नेपालमै पहिलो पटक विद्युतीय सवारी एसेम्बल प्लान्ट निर्माण गर्दै सुन्दर यातायात