घरबहाल करमा २५ हजार छुट दिने महानगरको घोषणा, विद्युतीय सवारीमा १००% छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ ।

 

आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो ।

 

‘यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ ।

 

यस्तै, कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक– निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट/सहुलियत दिइने नीति तथा कार्यक्रम रहेको छ ।

 

कोभिड–१९ बाट प्रभावित व्यवसाय (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

यस्तै, केन्द्र सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ।

 

त्यस्तै, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिने नीति पनि महानगरपालिकाले लिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

 

महानगरपालिकाको उपत्यका भित्रिने सवारीसाधन धुनका लागि भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने योजना छ। अन्य स्थानीय तहसँग समन्वय गरेर आधुनिक भेहिकल सेन्टर निर्माण गर्ने महानगरको योजना छ ।

 

महानगरपालिकाले महानगरभित्र भएका विभिन्न विकासका गतिविधि एवं व्यक्तिगत घटनालगायत अन्य तथ्यांकलाई व्यवस्थित रुपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गर्ने नीति लिएको छ ।

थामियो सेयर बजारको पहिरो, कारोबार रकममा भने भारी गिरावट Read Previous

थामियो सेयर बजारको पहिरो, कारोबार रकममा भने भारी गिरावट

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, समाधान गर्न कार्यदल गठन हुने Read Next

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, समाधान गर्न कार्यदल गठन हुने