डीपीआर ‘रिभाइज’ नहुँदा बाहिरी चक्रपथ निर्माण अन्योलमै, चिनियाँ कम्पनीले देखाएन रुची

काठमाडौं । उपत्यका ३ जिल्ला जोड्ने बाहिरी चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको झन्डै डेढदशक बितेपनि अझै टुंगो लाग्न छैन । हाल निर्माण भएको डीपीआर अनुसार चक्रपथ बनाउन सम्भव नहुने देखिएपछि आयोजना नै अन्योलमा परेको हो ।

 

बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । सो अनुसार अहिले सडक बनाउने पर्ने ठाउँहरुमा घनाबस्ती विस्तार भइसकेका छन् । आवश्यक जग्गा उपलब्ध नहुने र उपलब्ध जग्गाको पनि मुआब्जा तिर्नै नसक्ने भएपछि बाहिरी चक्रपथ निर्माण अन्योलमा धकेलिएको हो ।

 

पुरानो डीपीआरलाई रिभाइज गरी नयाँ आयोजना अघि बढाउने बताइए पनि हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘ एलाइमेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रकृया भने शुरु नभएको जनाइएको छ ।

 

यस्तै केही समय अघि सरकारले सतुङगलदेखि चोभारसम्म धेरै बस्ती नभएकाले बाहिरि चक्रपथ निर्माणको पहिलो चरणमा सोही सडक निर्माण गर्ने योजना बनाएको थियो । ७ किलोमिटर सो खण्डमा सडक निर्माणका लागि कुनै कार्यान्वयनको प्रकृया अघि बढाइएको छैन ।

 

बाहिरि चक्रपथ निर्माणलाई बजेटमा प्राथमिक्ता दिइएको बताइए पनि यसको लागत बजेट धेरै भएकाले यकिन बजेट विनियोजन गरिएको छैन । उपत्यका विकास प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलका अनुसार सरकारले बाहिरी चक्रपथ निर्माणका लागि बजेटमा प्राथमिक्ता दिएको बताए पनि कुनै बजेट विनियोजन भने गरिएको छैन ।

 

दशक अघिदेखि निर्माण गरिने भनिएको बाहिरि चक्रपथ निर्माणमा हालसम्म कुनै आधिकारीक निर्णय नआएको उनले बताए । ‘बजेटमा बाहिरि चक्रपथ निर्माणलाई प्राथमिकता दिइएको भनिएको छ, त्यसो भए पनि आधिकारिक रुपमा कुनै यति बजेट आउने, यसरी काम गर्ने भनेर केही आएको छैन,’ पौडेलले चाणक्य पोष्टसँग भने ।

 

उनले डीपीआर निकै पहिले बनेको हुँदा घना बस्ती भएका ठाउँलाई छोडेर सम्भव भएको स्थानबाट निर्माण शुुरु गर्ने बताए । ‘पुरानै डीपीआरमा बनाउन सकिँदैन, डीपीआर यलाइमेन्ट रिभाइज गरेर नयाँ मोडालिटीमा बनाउनु पर्छ,’ उनले भने ।

 

विगतमा बनेको डीपीआरलाई परिवर्तन गर्न छुट्टै मास्टर प्लानको तयारी गर्नु पर्ने भए पनि उत्त कार्यका लागि कुनै एक्सन नलिइएको उनले बताए । पछिल्लो समय भएको संसद विघटन, चुनाव, निषेधाज्ञ लगायतका विषयले पहिलो चरणमा शुरु गरिने भनिएको सतुङगल–चोभार खण्डमा समेत काम गर्न रोकेको छ ।

 

चिनियाँ कम्पनीले रुची देखाउन छाड्यो

 

यस अघि चिनियाँ कम्पनीले ‘इएफसी’ मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनाएको थियो । नेपालमा इएफसी मोडलमा कुनै पूर्वाधार निर्माण नभएकाले यसमा नेपाल सरकारले असमर्थन जनाएको हो । इएफसी मोडलमा बनाउन नेपाल सरकारले असमर्थन जनाएपछि चिनियाँ कम्पनीले यसमा रुची नदेखाएको जनाइएको छ ।

 

 

‘चिनियाँ कम्पनीले इएफसी मोडलमा बाहिरी चक्रपथ बनाउने भनेको थियो, नेपालमा त्यस मोडलमा अहिलेसम्म कुनै निर्माण भएको छैन, त्यसैले सरकारी पक्षबाटै यसमा चासो देखाइएन,’ एक इन्जिनीयरले भने ‘इएफसी मोडलमा नभए उनीहरुले लगानी गर्दिन भनेका छन् ।’उनले सक्दो चोभार–सतुङगल सडक खुलाउन स्वीकृतीको पर्खाइमा रहेको बताए । चोभार–सतुङगलमा केही सम्भावना भएकाले त्यस क्षेत्रमा पहिलो चराणमा सडक विस्तारको काम थलिने उनले जानकारी दिए ।

 

यस्तै चोभार–सतुङगल तर्फ अधिग्रहणका क्रममा ४२ घर भत्काउनु पर्ने देखिएको छ । ६.६ किलोमिटर उक्त सडक खण्डलाई स्वीकृती पाए तत्काल विस्तार गरी सडक खुलाउन सकिने उनले बताए ।यस क्षेत्रमा थोरै बस्ती भएकाले धेरै मुआब्जा तिर्नु नपर्ने र कम विवाद भएकाले शुरु मा बनाउन सकिने अनुमान गरिएको हो । त्यसो भए पनि यस क्षेत्रमा निर्माण शुरु गर्न कुनै तयारी थालिएको छेन । सो खण्डमा सडक निर्माण गर्न अध्ययन सम्म अघि बढाइएको छैन ।

 

जग्गालाई ‘ल्याण्ड पुलिङ’ गर्ने ठाउँहरुमा ल्याण्ड पुलिङ गरिने छ । चोभार–सतुङगलमा सडक विस्तारका क्रममा जग्गा धनिको ७ देखि ९ प्रतिशत जमिन सडकमा पर्ने देखिएको छ ।

 

बाहिरी चक्रपथ विस्तारमा बाधक बन्दै घना बस्ती

 

डीपीआर अनुसार बाहिरी चक्रपथ निर्माण गर्न विस्तारित बस्ती बाधक बन्दै गएको छ । भक्तपुर र ललितपुरमा खुल्ला जमिन भए पनि काठमाडौं भित्र सहरी विकास उच्च हुँदा बाहिरी चक्रपथले गति नपाएको हो । केही ठाउँमा घना बस्ती बनेका छन् त्यसलाई केही मिटर पछाडिबाट रियलाइनमेन्ट गरेर गर्न सकिने इन्जिनीयरहरु बताउँछन् ।

 

नागर्जुन, रानीबनमा धेरै बाक्लो बस्ती छ । बाहिरी चक्रपथको मोडालीटी अनुसार ५० मिटर बाटो हुनुपर्छ । दायाँबाँया २५०/२५० मिटर ल्याण्ड पुलिङ गर्ने योजना रहेको थियो । बाक्लो बस्तीमा ५०० मिटर जमिन लिन गाह्रो छ । यो मोडालीटी परिवर्तन बाहिरी चक्रपथको आवश्यक्ता बनेको छ ।

 

यस्तै चिनियाँ कम्पनीले समेत मोडालिटीमा परिवर्तन माग गरेका थिए । केही ठाउँमा घरभएका ठाउँलाई छाडेर माथिबाट लानेगरी बनाउनु पर्ने देखिन्छ । सहरी विकास बढेकाले मुआब्जा दिन सक्ने अवस्था छैन । जमिनको मूल्य प्रतिआना ३०/४० लाख रुपैयाँसम्म रहेको छ । यस अनुसार मुआब्जा बाँडेर बाहिरी चक्रपथ निर्माण असम्भवजस्तै देखएको विज्ञहरु बताउँछन् ।

बाहिरी चक्रपथ अन्तर्गत १०/१२ किलोमिटर क्षेत्रमा बस्ती बढेको प्राधिकरणले जनाएको छ । भूकम्पपछि बाहिरी चक्रपथ बन्ने क्षेत्रमा बस्ती बढ्दै गएका हुन् । ‘काठमाडौंमा धेरै बस्ती भएकाले समस्या भएको हो । केही स्थानमा नेशनल पार्क आएको छ, त्यसमा टनेल बनायो भने धेरै सजिलै निर्माण गर्न सकिन्छ,’ एक इन्जिनीयरले भने ।डीपीआर रिभाइज गर्न १ वर्ष लाग्ने छ । डीपीआर कसरी रिभिजन गर्न सकिन्छ र कुन ठाउँमा परिवर्तन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको प्राधिकरणका एक अधिकारीले बताए ।

 

बाहिरी चक्रपथ अन्तर्गत चोभार–सतुङगलको बाटो खुल्ला गर्न गरे केही समस्या समाधान हुने अनुमान गरिएको छ । त्यसका लागि उपत्यका विकास प्राधिकरणकाले काम गरिरहेको छ ।६.६ किलोमिटर लम्बाई रहेको चोभार–सतुङगल तर्फ बाटो खुल्ला गर्न सके अन्य क्षेत्रमा पनि विस्तारै बाटो विस्तार गर्दै खुलाउन सक्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 

बाहिरी चक्रपथका लागि चालू आर्थिक वर्षमा सरकारले २ करोड बजेट छुट्याएको छ । यो बजेट देखाउनका लागि मात्र राखिएको जस्तो भएको छ । बाहिरी चक्रपथलाई ९ वटा सेक्टरमा छुट्याइएको छ । चिनियाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको थियो । जसमा केही टनेलहरु बनाउन समेत माग गरिएको थियो । चिनियाँ डिजाइनमा बाहिरी चक्रपथ बनाउन निकै महंगो पर्ने नेपाल सरकारको बुझाइ रहेको छ ।

 

नेपाल सरकारले बाहिरी चक्रपथ ७२ किलोमिटरको चौडाइमा बनाउने भनेको थियो । २०७६/७७ मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ लाई ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) दिने तयारी भइरहेको थियो । तर, आफ्नो डिजाइन अनुसार बनाउन नेपाल सरकारले नमानेपछि चिनियाँ कम्पनी पछि सरेको हो ।

 

२०७५ साल चैत्र १५ र १६ गते भएको लगानी सम्मेलन भएको थियो । सो सम्मेलनमा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ ले निर्माण गर्छु भन्दै प्रस्ताव हालेको थियो ।बाहिरी चक्रपथ निर्माण गर्न चीनका चार वटा कम्पनीले आशयपत्र दिएका थिए । लगानी बोर्डले तीमध्ये तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सर्ट लिस्टमा सूचीकृत गरेको थियो ।

 

२०७६ देखि नै लगानी बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि आरएफपी माग गर्ने तयारी गरिरहेको थियो । बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।

देशभर आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन Read Previous

देशभर आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

बन्दीपुर केबलकार दशैंमा संचालन गर्ने लक्ष्यमा धक्का Read Next

बन्दीपुर केबलकार दशैंमा संचालन गर्ने लक्ष्यमा धक्का