मजदुर काममा फर्केसँगै नागढुंगा सुरुङमार्ग निर्माणले गति लिँदै, अहिलेसम्म कति खनियो ?
चाणक्य पोष्ट
प्रकाशित : 8:39 am, सोमबार, जेठ २४, २०७८

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना निर्माणले गति लिँदै गएको छ । निषेधाज्ञाका कारण घर गएका र आइसोलेसनमा बसेका मजदुरहरु साइटमा फर्किन थालेपछि सुरुङमार्ग निर्माणले गति लिएको हो ।

 

निषेधाज्ञा अघि ६०० जना भन्दा बढि कामदारले काम गरिरहेका भए पनि कोरोना र निषेधाज्ञाका कारण झन्डै आधा कामदारले साइट छाडेका थिए । कोरोना संक्रमणका कारण ८१ जना जापानीज कामदार आइसोलेसनमा थिए । उनीहरु रिकभरिपछि फर्किन थालेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

 

यस्तै, करिब ३०० कामदार घर फर्किएकोमा अहिले उनीहरु क्रमशः काममा फर्किन थालेका छन् ।  उनका अनुसार सब–कन्ट्रयाक्टरका कामदारहरु फर्किन थालेसँगै आयोजना निर्माणले आंशिक रूपमा गति लिन थालेको हो ।

 

जापानीज कामदारहरुमा कोरोना देखिन थालेपछि अन्य कामदारहरु समेत घर फर्केका थिए । जनशक्ति अभावका कारण मुख्य सुरुङमार्ग बाहेकको काम ठप्प रहेको थियो ।

 

अन्य जनशक्ति फर्केसँगै यही साताभित्र मुख्य सुरुङ बाहेकका कामहरु पनि गति पाउने उनले बताए । ‘जनशक्ति अभावका कारण भने जस्तो काम हुन सकेको थिएन, भर्खर कामदार फर्किन थालेका छन्, अबको १ सातामै कामले गति लिने छ,’ शाक्यले भने ।

 

सुरुङमार्ग बाहिर पुल, पहुँचमार्ग, कल्भर्ट लगायतका संरचनाहरु निर्माण थालिएको थियो । कामदारहरु डराएर घर फर्किन थालेसँगै काम रोकिएको थियो । अब कामले गति लिने आयोजनाले जनाएको छ ।

 

८१ जना जापानीज तथा अन्य कामदार कोरोना संक्रमित भएका थिए । १६ जना कामदार निको भएर फर्किने क्रममा रहेका हुन् । आयोजनाले संक्रमितलाई साइटमै रहेको आइसोलेसन वार्डमा राखेको छ ।

 

शाक्यका अनुसार हालसम्म दुवैतर्फ गरी १७२ मिटर मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । जसमा काठमाडौंतर्फ ६६ मिटर र धादिङतर्फ ११६ मिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको छ ।

 

यस्तै, आपतकालीन (स्केप टनेल) अन्तर्गत काठमाडौंतर्फ २२१ मिटर र धादिङतर्फ १०६ मिटर गरी कुल ३२७ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

 

सुरुङमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको हो । यो सुरुङमार्ग करिब २।७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १९ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

 

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ