नबिललाई उछिन्दै पुनर्बीमा बन्यो दोस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका ७ ठूला कम्पनी
चाणक्य पोष्ट
प्रकाशित : 4:46 pm, आइतबार, जेठ २३, २०७८

काठमाडौं । नबिल बैंकलाई उछिन्दै नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको दोस्रो ठूलो कम्पनी बनेको छ ।

 

आज एकैदिन पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा नबिललाई पछि पारेको हो । दुईसाता अघिसम्म प्रतिकित्ता १४५० रुपैयाँ रहेको पुनर्बीमाको सेयर मूल्य बढेर आज १८७५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यो तेस्रो स्थानमा झरेको नबिल बैंकको भन्दा करिब ८ अर्ब रुपैयाँले बढी हो ।

 

नबिलको बजार पूँजीकरण १ खर्ब ७९ अर्ब २८ करोड रुपैयाँ छ । पछिल्ला दिनमा पुनर्बीमाको सेयर मूल्य उच्च अंकले बढेपछि नबिल दोस्रो स्थानबाट झरेर तेस्रो स्थानमा पुगेको हो ।

 

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब ९१ अर्ब ५ रुपैयाँ छ ।

 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ४९ अर्ब पूँजीकरण सहित चौथो ठूलो कम्पनीको रुपमा रहेको छ । बजार पूँजीकरणकै आधारमा नागरिक लगानी कोष १ खर्ब २३ अर्ब सहित पाँचौं ठूलो कम्पनी बनेको छ भने नेपाल इन्फ्रास्टक्चर बैंक १ खर्ब १५ अर्बसहित छैटौं स्थानमा रहेको छ ।

 

यस्तै, एनआइसी एशिया बैंक १ खर्ब ७ अर्बसहित बजार पूँजीकरणका आधारमा सातौं स्थानमा रहेको छ । नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।