बालुवाटारको जग्गा सरकारको नाम ल्याइँदै, ४९ जनालाई हकदाबी गर्न २१ दिनको म्याद (सूचनासहित)
चाणक्य पोष्ट
प्रकाशित : 12:33 pm, आइतबार, जेठ २३, २०७८

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आइतबार एक सार्वजनिक सूचना जारी गरी उक्त जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको हो ।

 

मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेका र तिनीहरुबाट किनेका जग्गाधनीहरुलाई त्यो जग्गा आफ्नो हकदाबी गर्ने भए आधार र कारणसहित उपस्थित हुन भनेको हो ।

 

‘तपसिलको जग्गा सरकारको नाममा जारी नगर्नुपर्ने कुनै कारण भए’ सूचनामा भनिएको छ, ‘आफ्नो भएको भनाइ सबुत कागज प्रमाणसहित यस कार्यालयमा लिखित प्रतिक्रियासहित उपस्थित हुन सूचना प्रकाशित गरिएको छ ।’

 

मालपोत कार्यालयले सम्बन्धित जग्गाधनीले आफू उपस्थित हुन नसके वारेस वा कानून व्यवसायीलाई पठाउन सक्नेछन् । साथै इमेलबाट आफ्नो प्रतिक्रिया वा प्रमाण पेश गर्न भनेको छ ।

 

यसरी सूचना जारी गरिनेमा ४९ कित्ता जग्गाका जग्गाधनीहरु छन् । यीमध्ये अधिकांशमा जग्गाधनीको नाम दोहोरिएको छ । ललिता निवास जग्गा प्रकरणको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।