हुलाकी सडक निर्माण कछुवाको गतिमा, ४ वर्षमा जम्मा २५ किमी कालोपत्र

सांकेतिक तस्वीर

महेन्द्रनगर । सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । यहाँको डोकेबजार देखि दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।

 

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले ३० महिनाभित्र सक्नु पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्रे भएको बताए ।

 

तीन वटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो ।

 

‘पटक पटक निर्माणका लागि सयम थप गर्दा पनि काम भएन,’ इन्जिनियर मडैले भने, ‘अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महिना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।’ कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ ।

 

त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने ( बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका ८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् ।

 

‘त्यहाँ जीपीएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन,’ इञ्जिनियर मडैले भने, ‘स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।’ भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाइ छ ।

 

उक्त १२ सय मिटर सडक निर्माण कम्पनीले कालोपत्रे गर्ने तयारी गरिरहदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताइएको छ । १ अर्ब ९ करोड भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई आवागमनमा निकै सहज हुनेछ ।रासस

२०० रुपैयाँमा पनि बिकेन कुखुरा, किसान मारमा Read Previous

२०० रुपैयाँमा पनि बिकेन कुखुरा, किसान मारमा

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, यी ८ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बैंक चम्किँदा नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, यी ८ कम्पनीका लगानीकर्ता मालामाल