काठमाडौैं । विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै ध्यान केन्द्रित भएको छ ।
सरकारीस्तरबाट नयाँ सिलिन्डर ल्याउने र अनावश्यक क्षेत्रमा प्रयोग भएका सिलिन्डरको समुचित व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने निजी क्षेत्र, अस्पताल तथा आम सर्वसाधारणसमेत त्यसको व्यवस्थापनमा जुटेका छन् । गैरआवासीय नेपाली पनि सिलिन्डर व्यवस्थापनमा देखिएका छन् ।
गत वैशाख दोस्रो हप्तापछि कोभिड–१९ को सङ्क्रमणले एक्कासि गति लिँदा मुलुकभर अक्सिजन सिलिन्डरको हाहाकार भएको थियो । अस्पतालमा बिरामीको चाप बढ्ने र आएका बिरामीमध्ये अधिकांशलाई अक्सिजन दिनैपर्ने अवस्थाले अक्सिजनको माग बढी तर आपूर्ति कम हुँदा कतिपय बिरामीले मृत्युवरण गरेका घटना सार्वजनिक भएका छन् । नेपालको पश्चिम क्षेत्र रुपन्देही, बाँके, सुर्खेत मात्रै होइन राजधानी काठमाडौँमा समेत चरम समस्या देखियो ।
अक्सिजन नपाएर अस्पताल परिसरमा बिरामी र तिनका आफन्त हारगुहार माग्दै गरेका दृश्य सामाजिक सञ्जालमा देखिए । कतिपय अस्पतालले अक्सिजन सकिएकाले बिरामी भर्ना नलिने भन्दै सार्वजनिक गरेका थिए । अक्सिजन भए पनि सिलिन्डरको पर्याप्तता नभएको र भएका सिलिन्डरसमेत घरघरमा राख्ने प्रवृत्तिले अभाव हुँदा ती जटिलता आएका थिए ।
सरकार, सरोकारवाला संस्था र जनसमुदाय आ–आफ्नै तवरले अक्सिजनको व्यवस्थापनमा जुटेका थिए । उचित व्यवस्थापन नहुँदा अभावबीच थप हाहाकार भएको अक्सिजन उत्पादक बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतम सही ठाउँमा प्रयोग नुहँदा विगतमा समस्या भएको र अहिले त्यसलाई मन्त्रालयले व्यवस्थित गर्दै लगेको जानकारी दिए ।
नयाँ सिलिन्डर आउने क्रममा पनि रहेका र अन्यत्र प्रयोग भएका तथा घरघरमा राखिएका सिलिन्डर निस्किन थालेकाले अहिले विगतको जस्तो समस्या नभएको डा गौतमको भनाइ छ । मन्त्रालयले अहिले अक्सिजन व्यवस्थापनका लागि विभिन्न मापदण्ड नै बनाएर लागू गर्न थालेको छ । यद्यपि अझै पर्याप्त भने हुन सकिरहेको छैन ।
उनले कोभिड र अन्य आकस्मिकबाहेकका शल्यक्रियालाई रोक्न भनिएको र विभिन्न स्थानमा अक्सिजन प्लान्ट स्थापना गर्न अनुरोध गरिसकेको जानकारी दिए । सरकारी तहका प्रायः अस्पतालमा अहिले अक्सिजन प्लान्ट बनिसकेका छन् । निजी क्षेत्रका अस्पताल पनि उक्त अभ्यासमा जुटेका छन् ।
नेपाल सरकार स्वदेश तथा विदेशबाट सिलिन्डरको जोहो गर्नतर्फ लागेको छ । निजी क्षेत्र, आम समुदाय तथा गैरआवासीय नेपालीसमेत सिलिन्डरको व्यवस्थापनमा जुटेकाले केही आशाको दियो बल्ने सङ्केत मिलेको छ ।
चीन सरकारले अनुदानमा दिएका १८ हजार सिण्डिलर आज नेपाल प्रवेश भइसकेका छन् । हवाइमार्गबाट पनि सिलिन्डर आउनेक्रममा रहेकाले अब अक्सिजनसम्बन्धि हुने समस्या टर्दै जाने मन्त्रालयको जिकिर छ । शनिबार मध्यपूर्वमा रोजगारीमा रहेका नेपालीद्धारा खरिद गरी पठाइएका ५६० सिलिन्डर नेपाल आइसकेका छन् ।
सरकारले नेपाल प्रहरीको सहयोगमा विभिन्न क्षेत्रमा लुकाईछिपाई राखिएका सिलिन्डर तथा अन्य प्रयोजनमा प्रयोग भएका सिलिन्डर खोजेर अत्यावश्यक क्षेत्रमा वितरण गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर अहिलेसम्म आठ हजार १५६ सिलिन्डर सङ्कलन गरेर वितरण गरिसकेको र उक्त अभियान जारी रहेको बताउँछन् ।
स्थानीय तह र स्थानीय अस्पताल आफैँ अक्सिजन प्लान्ट स्थापना गर्न लागि परेका छन् । त्यसमाथि स्वास्थ्य मन्त्रालयले आफैँ अक्सिजनको व्यवस्थापनको जिम्मा लिएकाले अभाव पूर्तिमा राहत मिल्ने आशा गर्न सकिन्छ । यद्यपि अक्सिजन र सिण्डिलरको व्यवस्थापन कार्यलाई अझै चुस्त पार्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ ।
नेपाल सरकार मुख्य सचिवस्तरीय निर्णयले चिकित्सकको सिफारिसबाहेक अक्सिजन सिलिन्डर घरमा नराख्न र भएका सिलिन्डर नजिकका अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन अनुरोध गरिसकेको छ । अक्सिजनको सहज व्यवस्थापनका लागि मन्त्रिपरिषदको गत वैशाख १३ गतेको निर्णयले अक्सिजन र सिलिण्डलर आपूर्तिमा भन्सार छुट गर्ने निर्णय गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयको वैशाख २९ गतेको निर्णयले जटिल प्रकारका सङ्क्रमितका लागि अति आवश्यक पर्ने मेडिकल अक्सिजनको माग बढिरहेको र आपूर्ति थप जटिल बन्दै गएको स्मरण गराउँदै कम्तिमा १०० श्यया भएका निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न भनिसकेको छ । यी सबै प्रयास हेर्दा अहिले मुलुक नै मेडिकल अक्सिजनको आपूर्तिमा होमिएको देखिएको छ ।
कतिपय अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरिसकेका छन् । नेपाल प्रहरी अस्पतालले केहीअघि नै सञ्चालन गरिसकेको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको पहलमा नेपाल कोरियामैत्री अस्पतालमा पनि अक्सिजन प्लान्ट प्रयोगमै आइसकेको छ ।
समन्वयको अभाव भो : अध्यक्ष शारदा
अक्सिजन उत्पादन सङ्घका अध्यक्ष गौरव शारदा अक्सिजन यसरी चरम अभवा हुनुमा उचित समन्वय नहुनु नै मुख्य कारक रहेको बताउँछन् । “प्रयासहरु भइरहेका देखिन्छन्, तर त्यसअनुसारको समन्वयात्मक काम हुन सकिरहेको छैन”, शारदाले भने, “हामी निषेधाज्ञा लागू हुनुभन्दाअघि देखि नै काठमाडौँमा २४सै घण्टा उद्योग चलाएर अक्सिजन उत्पादनमा लागेका छौँ, तर समस्या जस्ताको तस्तै छ ।”
विगतमा पूर्वका जिल्लामा न्यून क्षमतामा प्लान्ट चलेका र अहिले करिब ८० प्रतिशत क्षमतामा प्लान्ट सञ्चालनमा ल्याएर काठमाडौँलगायत पश्चिम नेपालसम्म आपूर्ति गरिरहेको उनले जानकारी दिए। निजी क्षेत्रबाट मात्रै अहिले काठमाडौँमा दैनिक सात हजार सिण्डिलर अक्सिजन उत्पादन भइरहेका छन् । उनका अनुसार अर्को समस्या भने उद्योगका अक्सिजन सिलिन्डर कहाँ पुगे भनेर पत्ता लगाउन सकिएको छैन ।
“सिलिन्डर बीचबाटै अस्पताल पुगेका छन्, खाली सिलिन्डर अस्पताल लगेर के काम हाम्रो सिलिन्डर हामी कहाँ नै आउँदैन, सरकारले ल्याएको नयाँ सिलिन्डर पनि हामी कहाँ आएका छैनन्, आखिर भर्ने त हामीले नै हो”, शारदाले प्रतिप्रश्न गरे।
पहिले अक्सिजन अभाव नभएको तर सिलिन्डर मात्रै अभाव भएको जनाउँदै आउनुभएका उनले एक त सिलिन्डर व्यक्तिले लुकाएर राख्ने र निस्किएका सिलिन्डर पनि उद्योगसम्म नआउँदा समस्या कायमै रहेको बताए । यसलाई सही रुपमा व्यवस्थापन गर्न उनले सरकारसँग अनुरोध गरेका छन् ।