पर धकेलिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कामदार अभावमा निर्माण सुस्त

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुस्त भएको छ । निषेधाज्ञाका कारण मजदुर अभाव हुँदा कामले तीव्रता पाउन नसकेको हो ।

 

आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार निषेधाज्ञाका बाबजूुद निर्माण कार्य भइरहे पनि अपेक्षित गति लिन सकेको छैन । उनका अनुसार हाल पछिल्लो समय निषेधाज्ञका कारण धेरै कर्मचारीहरु घर फर्केकाले जनशक्तिमा कमी आएको हो । यसअघि ५०० हाराहारी नेपाली जनशक्तिले काम गर्दै आएकोमा हाल करिब २०० मजदुर मात्रै काममा खटिएका छन् ।

 

यस्तै, चिनियाँ जनशक्तिमा समेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध रहेको उनले बताए । चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको छ ।

 

‘कामको स्पिड घटेको छ, धेरै जनशक्तिहरु घर फर्केका छन् समयमा सकिन गाह्रो छ, उडान बन्द भएकाले चिनियाँ जनशक्ति ल्याउन सकिएको छैन,’ आयोजना प्रमुख मुनाकर्मीले चाणक्य पोष्टसँग भने ।

 

फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिछ्याउने तथा भित्रि सडकका कामहरु भइरहेको छ । निषेधाज्ञका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने उनले बताए । हालसम्म निर्माणको ७७ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ ५७ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

 

मे महिनासम्मा विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको हो । अब विदेशी जनशक्तिहरु जुलाई/अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको उनले बताए ।

 

विमानस्थल निर्माण २०२१ डिसेम्बर भित्र सक्ने योजना रहेको आयोजना प्रमुख मुनाकर्मीले बताए । निर्माण अन्तर्गत फिनिसिङको काम सकिन ४/५ महिना लाग्ने उनले बताए ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालु आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरी आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञ हुँदा कामले गति लिन सकेको छैन ।

 

कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यस अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले भने जति गति लिन सकेको छैन । निर्माण सम्पन्न मिति समेत २०२१ डिसेम्बरका लागि सारिएको आयोजना प्रमुख मुनाकर्मीले बताए । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि शुरु भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा रहने छ ।

अब कोरोना टेस्ट आफैँले गर्न मिल्ने, किट हरेक पसलमा पाइने, कति पर्छ मूल्य ? Read Previous

अब कोरोना टेस्ट आफैँले गर्न मिल्ने, किट हरेक पसलमा पाइने, कति पर्छ मूल्य ?

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याइने Read Next

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याइने