विशाल बजारको सेयरमा तीव्र चलखेल, यसरी फस्दैछन् लगानीकर्ता

काठमाडौं । विशाल बजार कम्पनीको सेयरमा तीव्र चलखेल हुन थालेको छ । बढ्न थालेपछि लगातार पोजेटिभ सर्किट र घट्न थालेपछि लगातार नेगेटिभ सर्किट लाग्ने गरी कारोबार हुन थालेपछि चलखलको आशंका गरिएको हो ।

 

करिब ३ महिनाको प्रतिबन्धपछि वैशाख ९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार १० दिनसम्म पोजेटिभ सर्किट लागेको थियो । गत विहीबारदेखि उल्टो यात्रा शुरु गरेको कम्पनीको सेयर मूल्यमा त्यसयता लगातार ४ दिन नेगेटिभ सर्किट लागेको थियो भने आज फेरि पोजेटिभ सर्किट लागेको छ ।

 

३ महिनाको प्रतिबन्धपछि वैशाख ९ गते प्रतिकित्ता ३०२४ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको भाउ १० दिनमै दोब्बरभन्दा धेरैले बढेर गत बुधबार ७४६२ रुपैयाँसम्म पुगेको थियो । बिहीबारदेखि दैनिक नेगेटिभ सर्किट लागेर घट्न थालेको कम्पनीको सेयर मूल्य पछिल्ला ४ दिनमै प्रतिकित्ता २५६५ रुपैयाँ घटेर ४८९७ रुपैयाँमा आइपुगेको थियो । आज फेरि १० प्रतिशतले बढेर प्रतिकित्ता ५३८६ रुपैयाँ पुगेको छ ।

 

कम्पनीको सेयर संख्या न्यून रहेकाले स्वार्थ समूहले सहजै कर्नरिङ गर्न सक्ने भएकाले कम्पनीको सेयरमा तीव्र उतरचढाव देखिएको हो । कर्नरिङ गर्ने समूहले भाउ बढाउन अधिक माग देखाई सप्लाइ शून्य हुने र घटाउनलाई विक्रीको चाप देखाई खरिदकर्ता शून्य हुने स्थिति सृजना गर्ने गरेका छन् ।

 

‘एक त कम्पनीको सेयर नै कम छ त्यसमा पनि सीमित व्यक्तिहरुसँग मात्र सजिलै चलखेल गरी भाउ बढाउने घटाउने काम भइरहेको छ,’ एक लगानीकर्ताले भने, ‘यस्तो प्रवृति नियन्त्रण गर्न नियामकले आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।’

 

कर्नरिङ गर्नेहरुले प्रफिट बुक गरेपछि फेरि सेयर मूल्य घटाउने र फेरि सस्तोमा उठाउने गर्दै आएका छन् । अनेक हल्ला चलाई सेयर भाउ बढाउने हुँदा हल्लाको पछि लागि महँगोमा सेयर किनेका लगानीकर्ता भने फसेको पाइन्छ ।

 

कम्पनीले वर्षौंदेखि सेयरधनीलाई लाभांश समेत दिएको छैन भने अझै कहिलेसम्म नपाउने हो टुंगो छैन । हलकै पछि लागेर यस्तो कम्पनीको सेयर महँगोमा किन्दा भने लगानीकर्ता आफैं सचेत हुनुपर्ने देखिन्छ ।

सीसीएमसीको लापरबाहीले भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी Read Previous

सीसीएमसीको लापरबाहीले भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

रिचार्जरमा ९९९ रुपैयाँमै पल्स अक्सिमिटर, कोभिडका सामान निःशुल्क डेलिभरी Read Next

रिचार्जरमा ९९९ रुपैयाँमै पल्स अक्सिमिटर, कोभिडका सामान निःशुल्क डेलिभरी