किन लगातार नेगेटिभ सर्किट लागेर घट्दै छ विशाल बजारको सेयर भाउ ?

काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्यमा लगातार चौथो दिन नेगेटिभ सर्किट लागेको छ ।

 

करिब ३ महिनाको प्रतिबन्धपछि वैशाख ९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार १० दिनको पोजेटिभ सर्किटपछि बिहीबारदेखि उल्टो यात्रा शुरु गरेको हो ।

 

वैशाख ९ गते प्रतिकित्ता ३०२४ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको भाउ दोब्बरभन्दा धेरैले बढेर गत बुधबार ७४६२ रुपैयाँसम्म पुगेको थियो । बिहीबारदेखि दैनिक नेगेटिभ सर्किट लागेर घट्न थालेको कम्पनीको सेयर मूल्य पछिल्ला ४ दिनमै प्रतिकित्ता २५६५ रुपैयाँ घटेर ४८९७ रुपैयाँमा आइपुगेको छ ।

 

वर्षौंदेखि वित्तीय विवरण समेत सार्वजनिक नगरेको भन्दै नेप्सेले माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार नै रोक्का गरेको थियो ।

 

विगतमा समेत स्वार्थ समूहले चलखेल गर्दै आएको यस कम्पनीको सेयर यसपटक पनि कर्नरिङ हुँदा भाउ अस्वभाविक वृद्धि भएको थियो ।

 

कर्नरिङ गर्नेले प्रफिट बुक गरेपछि फेरि सेयर मूल्य घट्न थालेको हो । अहिले कम्पनीको सेयर विक्री गर्नेको चाप देखिन्छ भने खरिदकर्ता शून्य रहेका छन् ।

 

नेप्सेमा सर्वसाधरणतर्फको ४ लाख ९१ हजार ४०० कित्ता सूचीकृत छ । सेयर संख्या थोरै र सप्लाइ पनि कम आउने भएकाले स्वार्थ समूहले अनेक हल्ला चलाउँदै कम्पनीको सेयरमा चलखेल गर्ने गरेका छन् ।

 

स्वार्थ समूहको पछि लागि हल्लाको भरमा सेयर किन्नेहरु नराम्ररी फसेको देखिन्छ । वर्षौंदेखि सेयरधनीलाई लाभांश समेत नदिएको कम्पनीको सेयर हौसिएर किन्नेहरु फसेका हुन् ।

खप्तड जोड्ने सडक कालोपत्र शुरु Read Previous

खप्तड जोड्ने सडक कालोपत्र शुरु

कालिमाटी तरकारी बजार बन्द Read Next

कालिमाटी तरकारी बजार बन्द