काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना संक्रमण देखिएको छ । शुरुमा १ जनामा संक्रमण देखिए पनि कन्टयाक्ट ट्रेसिङ गर्दा थप १५ जनामा पोजेटिभ देखिएको आयोजनाले जनाएको छ ।
कामदारमा कोरोना देखिएपछि कार्यस्थलमै आइसोलेशन बनाएर राखिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार अक्सिजन सिलिण्डरसहति आइशोलेशन वार्ड बनाइएको छ भने मेडिकल टिम समेत तयारी अवस्थामा राखिएको छ ।
१६ जनामा कामदारमा कोरोना देखिए पनि अन्य कामदारले निरन्तर काम गरिरहेको शाक्यले बताए । ‘अहिले पनि ६०० बढी मजदुरले दुई सिफ्टमा काम गरिरहेका छन्,’ उनले भने, ‘आयोजनाको काम रोकिँदैन, तोकिएकै मितिभित्र सक्ने लक्ष्य अनुसार काम अघि बढिरहेको छ ।’
हालसम्म नागढुंगा सुरुङमार्ग निर्माणमा करिब ११ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । सुरुङमार्ग अन्तर्गत ३४८ मिटर सुरुङ खन्ने काम पूरा भइसकेको छ । कुल ५ हजार ४९७ मिटर सुरुङ मध्ये ३४७ मिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।
मुख्य टनेल अन्तर्गत काठमाडौं (पूर्व)तर्फ ५० मिटर र धादिङ (पश्चिम) तर्फ ६५ मिटर गरी ११५ मिटर खन्ने काम सम्पन्न भएको छ । त्यसैगरी, आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) तर्फ २३३ मिटर खन्ने काम पूरा भएको छ । जसमा काठमाडौंतर्फ १६६ मिटर र धादिङतर्फ ६७ मिटर स्केप टनेल खनिसकिएको छ ।
कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई ब्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।
सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।
यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १६ महिना बितिसकेको छ । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।
यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ