काठमाडौं । लगातार ३५ दिनसम्म पोजेटिभ सर्किट लाग्दै आएको महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कारोबार खुलेको १० मिनेटमै लघुवित्तको सेयर मूल्य नेगेटिभ सर्किट अर्थाात् करिब १० प्रतिशतले घटेर ४५२७ रुपैयाँमा आएको छ ।
बिहीबार प्रतिकित्ता ५०३० रुपैयाँमा कारोबार भएको लघुवित्तको सेयर कारोबार खुल्नसाथ बढेर ५४९३ पुगे पनि एकैछिनमा घटेर नेगेटिभ सर्किट लागेको हो ।
चैत २ गतेदेखि कारोबारमा आएको कम्पनीको मूल्य ३५ दिनसम्म दैनिक १० प्रतिशतले बढ्दै आएको थियो । ३५ दिनसम्म चाहेर पनि सेयर किन्न नपाउने अवस्था रहे पनि आजदेखि सप्लाइ आएको छ ।
लघुवित्तले गत माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । चालू आवको तेस्रो त्रैमाससम्म १० करोड चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष १९ करोड १८ लाख रुपैयाँको छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ४२ लाख खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८५।६६ रुपैयाँ छ।