महिला लघुवित्त बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त बनेको छ ।

 

३५ कारोबार दिनदेखि लगातार पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेर ५००० नाघेसँगै सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त कम्पनी बनेको हो । बिहीबार महिलाको सेयर मूल्य प्रतिकित्ता ५०३० रुपैयाँ पुगेको छ ।

 

यसअघि जनउत्थान लघुवित्त सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त थियो । तर, जनउत्थानले गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरणका लागि मूल्य समायोजन गरेपछि महिला सबैभन्दा महँगो लघुवित्त बनेको हो । यसअघि जनउत्थानको सेयर मूल्य प्रतिकित्ता ५५०० रुपैयाँसम्म पुगेको थियो ।

 

महिला लघुवित्तको सेयरमा लगानी गरेको डेढ महिनामै लगानीकर्ताले ५० गुणा प्रतिफल हात पारेका छन् । गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयर मूल्य ३५ कारोबार दिनसम्म लगातार पोजेटिभ सर्किट लगानीको ५० गुणा भएको छ ।

 

कम्पनीको आइपीओमा १ हजार लगानी गरेकाहरुको आज सम्पत्ति ५० हजार रुपैयाँ नाघेको छ अर्थात् प्रतिकित्ता १०० रुपैयाँको सेयरको भाउ बढेर ५ हजार पुगेको छ । १० कित्ता आइपीओ पाउनेहरु १ हजार लगानी गरेर ५० हजारको मालिक भएका छन् ।

 

४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य लगातार दैनिक १० प्रतिशतले बढेर आज ५०३० रुपैयाँ पुगेको छ । महिलाको सेयरको मूल्य छोइनसक्नु भए पनि अझै खरिका लागि उच्च माग हुँदा सप्लाई भने अत्यन्त न्यून छ । जसले अझे केही दिन सेयरको भाउ बढ्ने संकेत देखिन्छ ।

 

अहिले पनि हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून हुँदा चाहे जति सेयर किन्न पाउने अवस्था छैन । डेढ महिनाको अवधिमा कम्पनीको जम्मा करिब ३० हजार कित्ता मात्र कारोबार भएको छ ।

 

लघुवित्तले गत माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

 

नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । सर्वसाधरणको सेयर संख्या कम भएको र वित्तीय अवस्था पनि बलियो रहेकाले लघुवित्तको सेयरमा आकर्षण देखिएको हो ।

 

चालू आवको तेस्रो त्रैमाससम्म १० करोड चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष १९ करोड १८ लाख रुपैयाँको छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ४२ लाख खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८५.६६ रुपैयाँ छ।

हुम्लामा हवाई उडान पुनःशुरु Read Previous

हुम्लामा हवाई उडान पुनःशुरु

विक्रीमा रोक लगाएपछि भारतबाट मदिरा पिउन नेपाल आउनेको ओइरो Read Next

विक्रीमा रोक लगाएपछि भारतबाट मदिरा पिउन नेपाल आउनेको ओइरो