लघुवित्तको सेयरको कमाल : १ हजार लगानी, डेढ महिनामा ५० हजार कमाइ

काठमाडौं । लघुवित्तको सेयरमा लगानीकर्ताको किन आकर्षण हुन्छ भन्ने महिला लघुवित्त वित्तीय संस्थाको सेयरले प्रमाणित गरेको छ ।

 

महिला लघुवित्तको सेयरमा लगानी गरेको डेढ महिनामै लगानीकर्ताले ५० गुणा प्रतिफल हात पारेका छन् । गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयर मूल्य ३५ कारोबार दिनसम्म लगातार पोजेटिभ सर्किट लगानीको ५० गुणा भएको छ ।

 

कम्पनीको आइपीओमा १ हजार लगानी गरेकाहरुको आज सम्पत्ति ५० हजार रुपैयाँ नाघेको छ अर्थात् प्रतिकित्ता १०० रुपैयाँको सेयरको भाउ बढेर ५ हजार पुगेको छ । १० कित्ता आइपीओ पाउनेहरु १ हजार लगानी गरेर ५० हजारको मालिक भएका छन् ।

 

४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य लगातार दैनिक १० प्रतिशतले बढेर आज ५०३० रुपैयाँ पुगेको छ । महिलाको सेयरको मूल्य छोइनसक्नु भए पनि अझै खरिका लागि उच्च माग हुँदा सप्लाई भने अत्यन्त न्यून छ । जसले अझे केही दिन सेयरको भाउ बढ्ने संकेत देखिन्छ ।

 

अहिले पनि हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून हुँदा चाहे जति सेयर किन्न पाउने अवस्था छैन । डेढ महिनाको अवधिमा कम्पनीको जम्मा करिब १७ हजार कित्ता मात्र कारोबार भएको छ भने सो अवधिमा जम्मा ९ दिन मात्र १ हजार बढी कित्ता कारोबार भएको छ ।

 

लघुवित्तले गत माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

 

नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । सर्वसाधरणको सेयर संख्या कम भएको र वित्तीय अवस्था पनि बलियो रहेकाले लघुवित्तको सेयरमा आकर्षण देखिएको हो ।

 

चालू आवको तेस्रो त्रैमाससम्म १० करोड चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष १९ करोड १८ लाख रुपैयाँको छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ४२ लाख खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८५.६६ रुपैयाँ छ।

अभाव हुने डरमा धमाधम खाद्यान्न थुपार्दै उपभोक्ता, कति महिनालाई पुग्ने स्टक छ ? Read Previous

अभाव हुने डरमा धमाधम खाद्यान्न थुपार्दै उपभोक्ता, कति महिनालाई पुग्ने स्टक छ ?

कोरोना संक्रमितको लागि बेड पाइएन ? यी नम्बरमा फोन गर्नुस् मन्त्रालयले मिलाइदिन्छ Read Next

कोरोना संक्रमितको लागि बेड पाइएन ? यी नम्बरमा फोन गर्नुस् मन्त्रालयले मिलाइदिन्छ