काठमाडौं। नेपाल धितोपत्र बोर्डले ५ वटा संगठित संस्थालाई विशिष्टिकृत लगानी कोष स्थापना र सञ्चालन गर्न अनुमति दिएको छ ।
बोर्डले ग्लोबल इक्विटी फण्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लि, एनआइबीएल एस क्यापिटल लि, एनआइसी एशिया क्यापिटल लि र एनएमबी क्यापिटललाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार अनुमति प्रदान गरेको हो ।
बोर्डले जारी गरेको विज्ञप्ति अनुसार कोष सञ्चालन गर्न ९ वटा संस्थाले आवेदन दिएका थिए । तीमध्ये पाँच वटा कम्पनीले अनुमति पाएका हुन् ।नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको हो ।
नेपालको पूँजी बजारमा हाल सेयर , डिबेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ वैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने विश्वास लिएको छ ।
साथै निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।
धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।