सुनसान देखिए उपत्यकाका सडक (फोटोफिचर)

काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् ।

 

सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उनको भनाइ छ । उनले भने, “हामीले निर्णयविपरीत हुँदा तत्काल रेस्पोन्स गरिरहेका छौँ ।”

बिहीबार निषेधाज्ञाको पहिलोदिन झण्डै ७०० सवारी साधन कारबाही गरिइएको उनले जानकारी दिए ।मुख्य सडक सुनसान हुँदा भित्रि गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत पनि देख्न सकिन्छ ।

उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार बिहीबार बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

-तस्वीर : रासस

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण नरोकिने, अहिलेसम्म कति मिटर खनियो ? Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण नरोकिने, अहिलेसम्म कति मिटर खनियो ?

ओखलढुङ्गाको रिङरोड राष्ट्रिय गौरवको योजनामा समावेश Read Next

ओखलढुङ्गाको रिङरोड राष्ट्रिय गौरवको योजनामा समावेश