काठमाडौं । विनाशकारी भूकम्प गएको आज ( वैशाख १२ गते) ६ वर्ष पुगेको छ । यसअवधिमा क्षति भएका करिब ६० प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका करिब १० लाख निजी घरमध्ये हालसम्म ५ लाख ९३ हजार २९३ घर निर्माण सम्पन्न भएका हुन् ।७ लाख ५३ हजार १०४ घर निर्माण शुरु भएकोमा अहिलेसम्म उक्त संख्यामा घर निर्माण सम्पनन भएका हुन् ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।
लाभग्राही सूचीमा समावेश भएकामध्ये ६५ हजार १६३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ८ लाख ७ हजार ७६४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।
जसमा ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी ६ लाख ९५ हजार ५७६ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख ३४ हजार ३७ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, यस अवधिमा ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएका छन् भने १ हजार ३०७ निर्माणाधीन अवस्थामा छन् । विद्यालय पुनर्निर्माणमा साढे ६ अर्ब बढी खर्च भइसकेको छ ।
यसअवधिमा काठमाडौं उपत्यकाका चर्चित सांस्कृतिक सम्पदाहरु धरहरा, रानीपोखरी लगायत पनि निर्माण सम्पन्न भएका छन् ।
पुनर्निर्माणमा पौने ७ खर्ब खर्च
६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र पौन ७ खर्ब खर्च भएको छ । प्राधिकरणका अनुसार यस अवधिमा विभिन्न संरचना पुनर्निर्माणका लागि कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको खर्च भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत मसान्तसम्म सो रकम खर्च भएको हो ।
प्राधिकरणका अनुसार आव २०७५/७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख १४ हजार र आव २०७६/७७ मा ५२ अर्ब ४९ करोड ३३ लाख ५९ हजार बराबरको खर्च भएको थियो ।