काठमाडौं । काठमाडौं महानगरपालिकाले बनाउँदै गरेको बागेश्वरीस्थित आकाशे पुल निर्माण हाल ठप्प रहेको छ । दुबै तर्फ पिल्लर गाडी सकेको सो पुलमा माथि डिक (पुलमा राख्ने फलाम) राख्ने काम मात्र बाँकी रहेको हो ।
डिक राख्ने ठाउँमा नाङगा तार भएकाले फलाम राख्दा करेन्ट लाग्न सक्ने र यात्रुका लागि समेत असुरक्षित हुने भएपछि सो आकाशे पुल निर्माणको काम रोकिएको महानगरपालिका भौतिक पूर्वाधार शाखाका प्रमुख राम थापाले बताए ।
उनले सो तार भूमिगत गर्नका लागि विद्युत प्राधिकरणमा अनुरोध गरिएको बताए । विद्युत प्राधिकरणले सो तार भूमिगत गनए १२ देखि १३ लाख रुपैयाँ खर्च लाग्ने बताएको छ । उक्त खर्च महानगरले बेहोर्न मन्जुरी भइसकेको उनले बताए ।
‘पुलको माथि डिक राख्ने ठाउँमा हाइभोल्टका तारहरु रहेकाले खतरा भएकाले अहिले नहालेको हो, त्यो तारहरु हटाउनमा प्राधिकरणमा भनेका छौँ,’ थापाले चाणक्य पोष्टसँग भने ‘त्यो तार भूमिगत हुना साथ हालमिले पुल काम पूरा गरी हाल्ने छौं ।’
चाबहिलमा अर्को आकाशे पुल बन्ने
चाबहिल चोकमा फेरि अर्को आकाशे पुल बन्ने भएको छ । चक्रपथको बाटो तर्फ चाबहिल चोकमा मेडिकेयर नजिकै अर्को आकाशे पुल बन्ने भएको प्रमुख थापाले बताए ।
उनले एउटै पुलले यात्रुलाई अझै असहज भएको भन्दै अर्को पनि आकाशे पुल हाल्ने तयारी भइरहेको बताए । उक्त स्थानमा आकाशे पुल हाल्दा चाबहिल चोकाबाट चक्रपथ जानेहरुका लागि बाटो काट्न सजिलो हुने गरी मेडिकेयर अस्पताल अगाडि आकाशे पुल बनाइने छ ।
विगतमा काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा चौबाटोलाई हुने गरी ठूलो आकाशे पुल बनाउने योजना बनाएको थियो । बाटोको साँघुरोपनाका कारणले हाल आएर छुट्टा छुट्टै २ पुल बनाउन लागेको हो ।
विगतमा चाबहिलमा ८२ लाख ६६ हजार रुपैयाँ लगानीमा आकाशे पुल बनाइएको थियो ।यस अघि काठमाडौं महानगपालिकाले ३ स्थानमा आकाशे पुल निर्माण गरिसकेको छ । यस अघि चाबहिल चोकमै एउटा, बानेश्वर चोकमा एक र माइतिघर नजिकै एक आकाशे पुल निर्माण भइसकेको हो ।आगामी दिनहरुमा पनि माहानगरपालिकाले आवश्यक्ता अनुसार विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्ने प्रमुख थापाले बताए ।