काठमाडौं । पछिल्लो सयम वैदेशिक लगानी प्रस्ताव घट्न थालेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धता४२ प्रतिशतले घटेको हो ।
उद्योग विभागको तथ्यांक अनुसार चालू आवको चैत २४ गतेसम्ममा कुल २४ अर्ब ७९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो गत वर्षकोभन्दा १८ अर्ब १७ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल ४२ अर्ब ९६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका वैदेशिक लगानी अधिकृत रुपेश खनालले वैदेशिक लगानी प्रस्ताव आउने क्रम जारी रहे पनि विगतका वर्षहरुमा जस्तो सहज रुपमा लगानी प्रतिबद्धता आउन नसकेको बताए । कोभिडले विगत वर्षमा पारेको असरका कारण पूँजीगत क्षति विश्वले भोग्नु परेकाले वैदेशिक लगानी कमी हुन गएको उनको भनाइ छ ।
चालू आवको चैत २४ गतेसम्ममा कुल २४ अर्ब ७९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो गत वर्षकोभन्दा १८ अर्ब १७ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल ४२ अर्ब ९६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
उनले हाल आइरहेको वैदेशिक लगानी अवस्था भने सन्तोषजनक नै रहेको बताए । ‘गत वर्ष कोरोनाका कारण विश्वको अर्थतन्त्र थलिएको छ, लगानी गर्ने वातावरण पनि सृजना हुन सकेको छैन तर, यतिको वैदेशिक लगानी आउनु सन्तोषजनक हो,’ खनालले चाणक्य पोष्टसँग भने ।
चालू आर्थिक वर्षमा १३९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योगहरुले ४ हजार ९६ हाराहारीलाई रोजगार प्रदान गर्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७७ उद्योग वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । सो उद्योगहरुले ९ हजार ६० लाई रोजगार दिने अनुमान गरिएको थियो ।
कुन क्षेत्रमा कति विदेशी लगानी प्रस्ताव ?
चालू आवमा पनि विगतमा जस्तै पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी लगानी प्रस्ताव आएको छ । चैत २४ गतेसम्ममा पर्यटनतर्फ ७९ वटा उद्योग दर्ता भएक छन् । सो उद्योगहरुमा १५ अर्ब ५८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको सोही अवधिमा पर्यटन तर्फ ६७ उद्योग दर्ता भएका थिए । सो उद्योगका लागि ८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । सो चालू आवका तुलनामा ७ अर्ब रुपैयाँ बढि हो ।
यस्तै, सेवामूलक क्षेत्रमा क्षेत्रमा ३३ उद्योगका लागि ५ अर्ब २६ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ उद्योगका लागि ७ अर्ब ९१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
चालू आवमा सूचना तथा प्रविधि क्षेत्रमा ७ वटा उद्योग ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । गत आवको सोही अवधिमा यस क्षेत्रमा ३२ उद्योगका लागि १० अर्ब ५५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
यसैगरी, चालू आवमा उत्पादनमूलक क्षेत्रतर्फ १५ उद्योगका लागि २ अर्ब ७८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ उद्योगमा २ अर्ब २१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
चालू आवमा कृषि क्षेत्रमा ३ वटा उद्योगका लागि ५६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । कृषि क्षेत्रमा गत चैत्र महिना भित्र ४ वटा उद्योगका लागि ५३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
ऊर्जा क्षेत्रमा शून्य लगानी
चालू आवमा अन्य क्षेत्रका उद्योग संचालनका लागि विदेशी लगानी प्रस्ताव आए पनि ऊर्जा क्षेत्रमा अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । गत आर्थिक वर्षको चैतसम्म ऊर्जामा ५ उद्योगका लागि ११ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । चालू आवमा ऊर्जा तर्फ वैदेशिक लगानी प्रतिबद्धता शून्य रहेको उद्योग विभागले जनाएको छ ।
विभागका वैदेशिक लगानी शाखा अधिकृतक खनालका अनुसार चालू आर्थिक वर्षमा ऊर्जा तर्फ नयाँ लगानीकर्ता आएका छैनन् । उनले पुरानै आयोजनामा सेयर मार्फत लगानी आएको हुन सक्ने भए पनि नयाँ आयोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता नआएको बताए ।
‘ऊर्जामा नयाँ लगानी कर्ता आएका छैनन्, गत वर्षसम्म ऊर्जामा पनि धेरै लगानी आएको थियो, सेयर मार्फत लगानी आएको हुन सक्छ त्यसमा हामीलाई थाहा हुँदैन,’ उनले चाणक्य पोष्टसँग भने ।