काठमाडौं । एक हप्तापछि फेरि चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसअघि लगातार ३४ कारोबार दिनमा पोजेटिभ सर्किट लागेर गत सोमबारदेखि घटेको कम्पनीको सेयर मूल्यमा आज फेरि पोजेटिभ सर्किट लागेको हो ।
गतहप्तासम्म कम्पनीको सेयर पाउनै मुश्किल थियो । तर, गतहप्तादेखि सहज आपूर्ति भएको कम्पनीको सेयर बीचमा ठूला लगानीकर्ताले उठाएको अनुमान गरिएको थियो । अहिले त्यही बेचेर नाफा बुक गर्नलाई सेयर सप्लाई कम गराइ मूल्य बढाएको लगानीकर्ताको भनाइ छ ।
संचारमाध्यमहरुमा चन्द्रागिरीले प्रयोगमा नआएको ७ रोपनी बढी जग्गा बेचेर बैंकको ऋण तिर्ने समाचारहरु आएसँगै लगानीकर्ता फेरि यसको सेयरमा आकर्षित भएका हुन् । कम्पनीले ऋण घटाएसँगै तिर्नुपर्ने ब्याज पनि घट्ने भएकाले कम्पनीको नाफा बढ्ने लगानीकर्ताको प्रक्षेपण छ ।
तुलानात्मक रुपमा कम्पनीको वित्तीय अवस्था कमजोर रहे पनि नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये यस्तो खालको कम्पनी एउटा मात्रै रहेकाले पनि लगानीकर्ताको आकर्षण देखिएको हो ।
कम्पनीको सेयर दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबारमा आएको थियो । १६१ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य दुई महिनाको अवधिमा १५ गुणाले बढेको छ । आज १ बजेसम्म कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेर प्रतिकित्ता २३४४ रुपैयाँमा कारोबार भइरहेको छ ।
हाल नेप्सेमा सर्वसाधरण तर्फको चन्द्रागिरीको १५ लाख ३४ हजार ९१० कित्ता सेयर सूचीकृत छ । थोरै सेयर भएकाले बजारमा चलखेल (कर्नरिङ) गर्ने समूहले जति मूल्यमा भए पनि पाए जति सेयर खरिद गर्ने गरेकाले मूल्य अस्वभाविक बढेको हो ।