चन्द्रागिरी हिल्सले ७ रोपनी जग्गा बेच्दै, बैंकको ऋण घटाउने
चाणक्य पोष्ट
प्रकाशित : 12:11 pm, आइतबार, चैत २२, २०७७

काठमाडौं। चन्द्रागिरी हिल्सले आफ्नो स्वामित्वमा रहेको जग्ग विक्री गर्ने भएको छ। हिल्सले थानकोटस्थित त्रिभुवनपार्कसँगै जोडिएको अब प्रयोगमा नआउने ७ रोपनी ३ आना २ पैसा जग्गा विक्रीमा राखेको हो।

 

कम्पनीले परियोजना बनाउने बेलामा उक्त जग्गामा बेस स्टेशन र पार्किङस्थल बनाउने भनेर किनेको थियो । तर, निर्माणका क्रममा बेस स्टेशन सरेपछि अब त्यो जग्गा प्रयोगमा नआउने भएसँगै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

प्रयोगमा नआउने जग्गा त्यतिकै राख्नुभन्दा विक्री गरेर बैंकको ऋण घटाउने कम्पनीको रणनीति अनुसार उक्त जग्गा बेच्न लागिएको जनाइएको छ ।

 

कम्पनीलाई उक्त जग्गा विक्री गरेबापत करिब १४ करोड रुपैयाँ हाराहारी पैसा आउने जनाइएको छ । कम्पनीको जग्गा भएको ठाउँ वरपर अहिले प्रतिआना भाउ १२ लाखदेखि १४ लाख रुपैयाँ चलिरहेको छ । कम्पनीले प्रतिआना १२ लाखका दरले बेचे पनि ११६ आना जग्गा बेच्दा करिब १४ करोड रुपैयाँ आउने छ ।

 

कम्पनीले उक्त जगा प्रतिआना करिब ४ लाख रुपैयाँका दरले करिब साढे ४ करोड रुपैयाँमा किनेको थियो । ७/८ वर्षमै उक्त जग्गाको भाउ तेब्बर भएको छ ।

 

कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूलय अहिले २ हजार हाराहारीमा रहेको छ ।