काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले धमाधम हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् ।
शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधरण सभाबाटै पारित गरिसकेको छ भने अजोडले ५० हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । अन्य कम्पनीहरुले पनि तयारी गरिरहेका छन् ।
यसैक्रममा, आइएमई जनरल इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । कम्पनीले उक्त हकप्रद पारित गर्न आगामी वैशाख १२ गते साधरण सभा बोलाएको छ ।
यस्तै, कम्पनीले सभामा सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि मुख्य एजेन्डाको रुपमा लैजाले भएको छ ।बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले संस्थापक र साधारण सेयर संरचनालाई ६०ः४० अनुपातबाट ५१ः४९ प्रतिशतको अनुपातमा कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने, गत वर्षको वासलत, नाफा नोक्सान हिसाव, वित्तीय विवरण पेश गर्ने लगायत प्रस्ताव पनि लैजाने भएको छ ।
कम्पनीले साधरण सभा प्रयोजनाका लागि वैशाख २ गतेदेखि १२ गतेसम्म बुकक्लोज मिति तोकेकोछ । चैत ३० गतेसम्म कायम रहने सेयरधनीले कम्पनीको लाभांश र साधरण सभामा भाग लिन पाउनेछन् ।