काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।
निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले यसअघि पहिलोचरणमा आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।
यस्तो छ सेयर संरचना
कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ । १ अर्ब ४५ करोड जारी पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न अहिले २९ रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओ पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको ३० प्रतिशत रहनेछ ।
कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब १ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, कम्पनीमा स्थानीयबासीको १० प्रतिशत अर्थात् १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधरणको २० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ लगानी रहनेछ ।
प्रतिमेगावाट लागत कति ?
कम्पनीले दोलाखको सिंगटी खोलामा ‘रन अफ रिभर’ २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९९ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । अब चाँडै नेपाल विद्युत् प्राधिकरणले विद्युत्गृह परीक्षण गर्ने र नियमित विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ ।
आयोजनाको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसमेत २२ करोड लाग्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४० वर्ष रहेको छ । आयोजनाले २०७२ माघ २० गते विद्युत् उत्पादन अनुमति पाएको थियो भने आयोजनाको विद्युत् उत्पादन बहाल रहने समय ५० वर्ष अर्थात् वि.सं. २१०७ पुस २९ गतेसम्म रहेको छ ।
हाल सञ्चित नाफा साढे ११ करोड
अघिल्लो ४ आर्थिक वर्षको सञ्ति नाफा उल्लेख नगरेको कम्पनीको चालू आर्थिक वर्षसम्म ११ करोड ६३ लाख ८० हजार सञ्चित नाफा रहेको छ । कम्पनीले आगामी ३ वर्ष (आव २०८०/८१)सम्म यस्तो नाफा ६० करोड द७३ लाख पुर्याउने प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ मा ८.०३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीले आगामी ३ वर्षमा यस्तो आम्दानी १३.४८ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । कम्पनीले आव २०७८/७९ मा ९.१६ रुपैयाँ, २०७९/८० मा ११.२२ रुपैयाँ र २०८०/८१ मा प्रतिसेयर आम्दानी १३.४८ पुग्ने प्रक्षेपण गरेको छ ।
चालू आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.०३ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८०/८१ सम्म नेटवर्थ १४१.८९ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अैसतभन्दा कमजोर रहेको जनाउँछ ।