धरहरा ठडिए पनि तोकिएकै समयमा निर्माण सम्पन्न नहुने, अझै कम्तीमा १ वर्ष लाग्ने

काठमाडौं । धरहरा ठडिए पनि तोकिएकै समयमा निर्माण सम्पन्न हुने सम्भावना कम हुँदै गएको छ । धरहराको २२ तलाकै ढलान सम्पन्न भए पनि अन्य कामहरु बाँकी रहँदा निर्धारित समयमा सम्पन्न नहुने सम्भावना बढ्दै गएको हो ।

 

पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । तर, अब ४ महिनाभित्र ४१ प्रतिशत काम पूरा सम्पन्न हुन नसक्ने जनाइएको छ ।

 

सम्झौता अनुसार २०७७ कात्तिक मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर कोरोना, कामदार अभाव लगायत कारणले निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार १७ गतेसम्म म्याद थपिएको छ । अझै ४१ प्रतिशत काम बाँकी रहेकाले थपिएको मितिमा पनि काम सम्पन्न हुने सम्भावना अत्यन्तै कम छ ।

 

धरहराको मुख्य संरचना ठडिए पनि प्लास्टर, फिनसिङ, ट्रिपल बेसमेन्ट, साइट पार्किङलगायतका धेरै काम गर्न बाँकी रहेको धरहरा प्रोजेक्ट म्यानेजर स्याम श्रेष्ठले बताए । धरहरा निर्माण भइसके पनि धरहरा वरिपरी निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउनटेन लगायतका सामग्री निर्माण गर्न बाँकी रहेको उनले बताए ।

 

‘अझै धरहरामा धेरै काम बाँकी छ, बीचमा कोभिडले धेरै काम रोक्यो, अहिले धरहरा त ठडिसक्यो तर, धरहरामै धेरै काम बाँकी रहेको छ, त्यसको बाहिरका पनि धेरै संरचना बनाउ बाँकी छ,’ प्रोजेक्ट म्यानेजर श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

धरहरा डिजाइन बेस भएकाले यसमा समय अनुसार डिजाइन परिवर्तन गरिख्नु पर्दा पनि अझै समय थप गर्नु पर्ने भएको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ असार १७ गतेसम्मका लागि समय म्याद थप भए पनि त्यो समयमा सम्पन्न हुन नसक्ने उनले बताए । साथै कोभिडका कारण अन्य कामहरुमा ढिलाइ भएको उनले बताए ।

 

उनका अनुसार ढलानको काम पूरा भए पनि प्लाष्टरका कामहरु हुने क्रममा रहेका छन् । अन्डर ग्राउण्डमा पार्किङका बनाउने काम भइरहेको छ । यस अघि धरहराको पुनर्निर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको थियो । तर, कोभिड १९ का कारण र विभिन्न विवादका कारण धरहरा निर्माणले गति लिन सकेन । जस कारण धरहरा पुनर्निर्माण पूरा गर्नका लागि २०७८ असार १७ गतेसम्मका लागि म्याद थपिएको थियो । भ्याटसहित कुल ३ अर्ब ४५ करोडमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो ।

 

२२ तल्ले धरहरामा ३ तला अन्डरग्राउण्डमा पार्किङ बन्दै छ । चढ्न झर्नका लागि ‘लिफ्ट’ राखिएको छ । धरहरा निर्माणका क्रममा लिफ्टको काम पनि बाँकी नै रहेको छ ।

 

हालसम्म १ अर्ब २५ करोड रुपैयाँ खर्च

 

हालसम्म धरहरा निर्माणका क्रममा १ अर्ब २५ करोड रुपैयाँ खर्च भइसकेको छ । अझै केही रकम भुक्तानी गर्न बाँकी रहेको छ । उनले भुक्तानी हुन बाँकी बिलको रकम तिरेपछि डेढ अर्ब रुपैयाँ खर्च हुने बताए । उनले धरहरा निर्माणका लागि १८ महिना थप माग गरिएको बताए । सो समय अवधिमा भने बाँकी रहेका कामहरु सम्पन्न गरिने प्रोजेक्ट म्यानेजर श्रेष्ठको दाबी छ ।

 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए । साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ । धरहरा पहिलाकै झै चुनढुङ्गाबाट मौलिक संरचनामा नभइ आधुनिक शैलीमा निर्माण हुन लागेको हो । धरहरा बाहिर हेर्दा जुद्ध शमशेरले बनाएको जस्तो देखिए पनि पहिलेको भन्दा निकै भिन्न र आधुनिक हुनेछ ।

 

पुनर्निर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बन्दै गरेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।

 

भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा प्रधानमन्त्री ओलीले ‘मै बनाउँ छु, मेरो धरहरा’ भन्ने नारा अभियान समेत चलाएका थिए । अभियानको गति त्यति प्रभावकारी हुन नसकेपछि पुनर्निर्माण प्राविधिकरणलाई जिम्मा दिएको थियो ।

 

पुनर्निर्माण प्राविधिकरणले जिम्मा पाएपछि निर्माण तीव्रताका साथ अघि बढेको छ । वि.सं.१८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपूरा सुन्दरीदेवीको सम्झना स्वरुप बनाएको उक्त धरहरा त्यसको १०८ वर्षपछि वि.स. १९९० को भूकम्पले भत्किएको थियो । पुनः तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनर्निर्माण गराएका थिए ।

चैतको दोस्रो सातादेखि मेलम्चीको पानी वितरण गरिने, अब उपत्यकाका धारामा  दैनिक पानी पाउने Read Previous

चैतको दोस्रो सातादेखि मेलम्चीको पानी वितरण गरिने, अब उपत्यकाका धारामा दैनिक पानी पाउने

नागढुङ्गा सुरुङमार्ग निर्माण धमाधम हुँदै, अहिलेसम्म कति मिटर सुरुङ खनियो ? Read Next

नागढुङ्गा सुरुङमार्ग निर्माण धमाधम हुँदै, अहिलेसम्म कति मिटर सुरुङ खनियो ?