नेपाली कफीको माग उच्च, उत्पादन भने मागको १० प्रतिशत मात्रै

"सस्तोमा निर्यात, महँगोमा आयात"

काठमाडौं । उत्पादनको प्रचुर सम्भावना रहेर पनि नेपाल कफीमा पूर्णता परनिर्भर जस्तै रहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहे पनि न्यून मात्रमा उत्पादन हुँदा वर्षेनी आयात बढ्दो क्रममा रहेको छ ।

 

नेपालमा मागको करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्ने गरेको तथ्यांकले देखाएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा वार्षिक करिब १४ हजार मेट्रिकटन कफीको माग रहे पनि १ हजार ५१३ मेट्रिकटन मात्र कफी उत्पादन हुन्छ ।

 

नेपाल उत्पादन हुने कफी पनि विदेश निर्यात हुने भएकाले आन्तरिक बजारको मागको करिब ९० प्रतिशत कफी तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ) सम्ममा ३९ हजार ८११ केजी कफी निर्यात भएको छ भने १ लाख २५ हजार १ सय ५ केजी कफी आयात भएको देखिन्छ ।

 

चिया तथा कफी विकास बोर्डका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा वार्षिक करिब १४ हजार मेट्रिकटन कफीको माग रहे पनि १ हजार ५१३ मेट्रिकटन मात्र कफी उत्पादन हुन्छ ।

 

सो समयमा नेपालमा उत्पादित मध्ये ४ करोड ९९ लाख रुपैयाँ बराबरको कफी बाहिरिने गरेको छ । विदेशबाट ७ करोड १२ लाख रुपैयाँ बराबरको कफी आयात हुने गरेको छ । नेपालबाट निर्यात हुने भन्दा आयात हुने कफिको मात्रा देरै भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

नेपालमा कफीको माग ६ हजार मेट्रिकटन रहेको छ । हाल नेपालमा उत्पादन हुने कफी बढी निर्यातमुखी नै रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ८ हजार मेट्रिकटन कफी माग भए पनि हालसम्म नेपालले आन्तरिक माग समेत पूरा गर्न सकेको छैन ।

 

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ६५ हजार हेक्टर क्षेत्रफल व्यवसायीक कफी खेती योग्य रहेका छन् । तर, हाल कुल २ हजार क्षेत्रफलमा मात्र कफीको व्यवसायीक खेती हुँदै आएको छ ।

 

बोर्डका सूचना अधिकारी दीपक खनालका अनुसार कफीको माग पूरा गर्न अब ठूला लगानीकर्ताहरुले कफी खेतीमा आकर्षित गर्नु पर्ने हुन्छ । हाल साना किसान तथा अन्य केही मात्र क्षेत्रमा व्यवसायीक कफी खेती हुने गरेको उनले बताए ।

 

‘कफी खेतीलाई बढाउन, सरकारले ठूला व्यवसायीहरु कफी खेतीमा आकर्षण हुने वातावरण मिलाउनु पर्छ,’ खनालले चाणक्य पोष्टसँग भने । यस्तै कफी खेतीमा अनुसन्धानको कमी भएकाले त्यसमा पनि सरकारले ध्यान पुर्याउनु पर्ने उनले बताए ।

 

हाल नेपालमा एकै प्रकारको बीउबाट कफी उत्पादन हुन्छ । जसमा कहिले किरा लाग्ने तथा विभिन्न विरुवाका रोग आउनाले उत्पादनमा ह्रास आउने गरेको छ । यसलाई मध्य नजर गर्दै नयाँ विरुवाको अध्ययन गरि हाइब्रिड प्रकारका बीउको उत्पादन गर्नु पर्ने उनले बताए । तर, हालसम्म नेपालमा कफी खेतीलाई लिएर कुनै अनुसन्धान भएको छैन ।

 

‘अहिलेसम्म कफी खेतीमा कुनै अध्ययन तथा अनुसन्धान भएको छैन, त्यसका लागि सरकारबाट समेत कुनै सहयोग छैन, अलि बढी कफी उत्पादन गर्नका लागि नयाँ हाइब्रिड बीउ नल्याए सम्म उत्पादन बढाउन सकिँदैन,’ खनालले भने ।

 

सस्तोमा निर्यात, महँगोमा आयात

 

नेपालबाट कफी आयात निर्यात दुवै हुन्छ । वार्षिक करिब २५ करोड रुपैयाँ बराबरको निर्यात र सोभन्दा बढी रकमको कफी आयात हुन्छ । नेपालबाट थोरै मात्रमा कफी सस्तो मूल्यमा बाहिरिने गरेको छ् भने विदेशबाट महँगो मूल्यमा धेरै मात्रामा कफी आयात हुने गरेको छ ।
नेपालबाट निर्यात हुने कफी प्रतिकेजी १० डलरको हाराहारीमा पर्न आउने र विदेशबाट आयात हुने कफी प्रतिकेजी ५ डलरको हाराहारीमा पर्न आउने खनालले जानकारी दिए ।

 

नेपालमा उत्पादन हुने कफी सस्तो र गुणस्तरीय हुने भएकाले वर्षेनी अन्तर्राष्ट्रिय बजारमा नेपालको कफीको माग बढ्दो रहेका उनको भनाइ छ । तर, माग अनुसार उत्पादन हुन नसक्दा वार्षिक करोडौं रकम बराबरको कफी आयात हुँदै आएको छ ।

 

३२ जिल्लामा खेती, तर उत्पादन भने न्यून

 

देशका ७७ जिल्ला मध्ये ३२ जिल्लामा कफी खेती हुने गरे पनि उत्पादन भने अत्यन्त न्यून रहेको छ । कृषकलाई कफी खेतीप्रति आकर्षित गर्ने प्रभावकारी नीति तथा कार्यक्रम नहुनु, उन्नत जातका बीउ नपाउनु, कफी खेतीका लागि आवश्यक मल र विषादी सहजै नपाउनु लगायत कारणले यसको खेती फस्टाउन छैन ।

 

हाल ३२ जिल्लामा ६ हजार ३४६ कृषक÷व्यवसायीले ९७३ हेक्टर जमिनमा व्यावसायिक कफीखेती गरेको पाइन्छ । नेपालमा सबैभन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा १०४.३ हेक्टरमा वार्षिक २२१ मेट्रिकटनकफी उत्पादन हुन्छ ।

 

यस्तै दोस्रो ललितपुरमा ९६.३ हेक्टर, तेस्रो स्याङजामा ९४.१ हेक्टरमा कफी खेती भएको तथ्यांकले देखाएको छ । यस्तै, सबैभन्दा कम प्युठानमा ०.८ हेक्टर कफीखेती गरेको पाइएको छ. । सर्वेक्षणका अनुसार नेपालमा १ हजार ५७३ मेट्रिकटन हरियो कफी फ्रेस चेरी उत्पादन हुने गरेको देखाएको छ ।

 

सर्वेक्षणका अनुसार प्रदेश नम्बर १ ३, ५ र गण्डकी प्रदेशमा मात्र व्यावसायिक कफीखेती भएको देखिन्छ । सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २ हजार ७५८ कृषकले व्यवसायीक कृषि खेती गरेको पाइन्छ । सर्वेक्षण अनुसार सो प्रदेशमा ४२३.४ हेक्टर क्षेत्रफलमा ७५७.८ मेट्रिकटन फ्रेस चेरी कफी उत्पादन हुने गरेको छ ।

 

यस्तै, प्रदेश १ मा ५६९ कृषकले व्यावसायीक रुपमा कफी खेती गरेको पाइएको छ । सो प्रदेशमा १२०.५ हेक्टर क्षेत्रफलमा १३.६ मेट्रिकटन . फ्रेस चेरी उत्पादन हुने गरेको पाइएको छ ।

 

यस्तै, गण्डकी प्रदेशमा १ हजार ८७२ कृषकले व्यवसायीक कफी खेती गरेका छन् । सो प्रदेशमा २८१.४ हेक्टर क्षेत्रफलमा ४२२.४ मेट्रिकटन कफीका फ्रेस चेरी उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ ।

 

प्रदेश नम्बर ५ मा १ हजार १४८ कृषकले व्यावसायीक खेती गरेको पाइएको छ । सो क्षेत्रमा १४७.२ हेक्टर क्षेत्रफलमा २८९.७ मेट्रिकटन कफीको फ्रेस चेरी उत्पादन हुने गरेको देखिन्छ ।
.

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो १ हप्ता बन्द हुने, यस्तो छ कारण Read Previous

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो १ हप्ता बन्द हुने, यस्तो छ कारण

चिलिमेको विद्युत् उत्पादन बन्द Read Next

चिलिमेको विद्युत् उत्पादन बन्द