अमेरिकाले म्यानमारका सैनिक शासकहरुले अमेरिकाको फेडरल रिर्जभ बैंक अफ न्यूयोर्कमा रहेको १ अर्ब डलर (करिब १ खर्ब १६ अर्ब रुपैयाँ) निकाशा गर्न लागेको प्रयासमा प्रतिबन्ध लगाएको छ ।
सैनिक शासकहरुले गत फेब्रुअरी १ तारिखका दिन सत्ता हत्याएपछि अमेरिकामा रहेको १ अर्ब डलर निकाल्ने प्रयास गरेका थिए । उक्त प्रयासमा प्रतिबन्ध लगाउँदै अमेरिकाले म्यानमारको १ अर्ब डलरको कोष ‘फ्रिज’ गरिदिएको हो ।
म्यानमारको केन्द्रीय बैंकको नामको कारोवार गत फेब्रुअरी ४ तारिखका दिन अमेरिकाको फेड सेफगार्डस्ले ब्लक गरेको थियो । त्यसपछि अमेरिका राष्ट्रपति जो बाइडेनले कार्यकारी निर्देशन दिँदै उक्त रमक अनिश्चितकाल सम्मको लागि ब्लक गर्न निर्देशन दिएका हुन् ।
अमेरिकी अधिकारीहरुले यस विषयमा प्रतिक्रिया दिन नचाहको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ । म्यानमारका सैनिक जनरलहरुले आफ्नो अन्तर्राष्ट्रिय ‘एक्सपोजर’लाई सीमित तुल्याउनका लागि अमेरिकाबाट पैसा निकाल्ने प्रयास गरेका थिए । उनीहरुले अहिले सत्ता कब्जा गर्दै जननिर्वाचित प्रतिनिधिहरुलाई बन्दी बनाएका छन् । यसै सन्र्दभमा गत नोभेम्बरमा चुनाव जितेकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई पनि बन्दी बनाएर राखेको छ ।
म्यानमारको सैनिक सरकारका प्रवक्ताले पनि यो विषयमा कुनै प्रतिक्रिया दिन नचाहेको रोयर्टसले उल्लेख गरेको छ । म्यानमारमा सैनिक कू पश्चात संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपियन युनियन र ब्रिटेन लगायत मुलुकहरुले नयाँ प्रतिबन्ध लागाएका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार सैनिक सरकारले हिजो बिहीबार मात्र ५४ जना प्रर्दशनकारीहरुको हत्या गरेको थियो । अहिले म्यानमारको सैनिक सरकारले २९ पत्रकार लगायत १७०० मानिसहरुलाई प्रक्राउ गरेको छ ।
सैनिक जनरलहरु र उनीहरुको व्यवसायमा प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले गत फेब्रुअरी १० तारिखका दिन अमेरिकाले १ अर्ब डलरको सरकारी कोषमा सैनिक पहुँचलाई प्रतिबन्ध लगाउने बताएका थिए ।
अमेकिरिकी अधिकारीहरुले उक्त समयमै व्याख्या नगरे पनि भोलीपल्ट म्यानमारको केन्द्रीय बैंकलाई पनि म्यानकार सरकारकै एउटा हिस्सा मानिएको बताएका थिए ।
स्रोतका अनुसार उक्त कार्यकारी आदेश म्यानमारको कोष माथि अनिश्चितकालसम्मको लागि प्रतिबन्ध लगाउनकै लागि जारी गरिएको थियो ।
अमेरिकी केन्द्रीय बैंकको ‘अन्तराष्ट्रिय खाता सेवा’ विभागले उक्त कोषको व्यवस्थापन गर्दै आएको थियो । कारोवार सेटल गर्नका लागि विभिन्न देशका केन्द्रीय बैंकहरुले उक्त विभागमा खाता सञ्चालन गर्दै आएका छन् ।