मुग्लिन-पोखरा ४ लेन सडक : ठेक्का लगाइएको ४ महिना बिते पनि अझै शुरु हुन सकेन काम

सांकेतिक तस्वीर

काठमाडौं । मुग्लिन–पोखरा सडक खण्ड चार लेनमा विस्तारको काममा ढिलाइ भएको छ । ठेक्का सम्झौता भएको चार महिना बिते पनि निर्माण कम्पनीलाई पेस्की रकम (मोबिलाइजेशन) रकम झुक्तानी नहुँदा काम शुरु हुन नसकेको हो ।

 

मोबिलाइजेशन रकम भुक्तानी गर्न ठेकेदार कम्पनी नेपालमा कम्पनी रजिष्टरमा दर्ता हुनु पर्दछ । अहिलेसम्म उक्त कम्पनी भ्याटमा समेत दर्ता नहुँदा भुक्तानी गर्न नमिलेको एडीबी (एसियाली विकास बैंक) का उपआयोजना निर्देशक राकेश महर्जनले बताए ।

 

एडीबीको झण्डै २२ अर्ब ऋण सहयोगमा सो सडक खण्डलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि पोखरासम्मको सडक खण्डमा बजार क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेनमा सडक विस्तार गरिनेछ ।

 

उनले सम्झौता भएपनि अन्य प्रक्रिया अझै बाँकी रहेकाले २ महिनाका हाराहारीमा मोबिलाइजेसनका लागि समय लाग्ने बताए । उनले अब सो कम्पनीले नेपालमा कम्पनी रजिष्टर गर्नु पर्ने छ भने भ्याट समेत दर्ता गर्नु पर्ने छ । सो दर्ता नभएसम्म भुक्तानी गर्न नमिल्ने भएकाले निर्माण शुरु हुन अझै समय लाग्ने भएको हो । यससँगै सो कम्पनीले निर्माण पूरा गर्ने ग्यारेन्टी लिनु पर्ने उनले बताए ।

 

‘कम्पनीसँग सम्झौता मात्र भएको हो, अब उसले नेपालमै कम्पनी रजिष्टर गरी भ्याट दर्ता गर्नु पर्छ अनि मात्र मोबिलाइजेसन हुन पाउछ नत्र हामीले पनि काम बापत कुनै भुक्तानी दिन सक्दैनौँ, त्यसैले समय लाग्ने भएको हो,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

मुग्लिन–पोखरा खण्डको पहिलो प्याकेजका लागि सीसीसी (चाइना कम्युनिकेसन कम्पनी) ले ठेक्का पाएको हो । सो कम्पनीसँग आबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक विस्तारको ठेक्काका लागि सम्झौता भएको हो ।

 

कोभिडका कारण मूल्यांकन तथा ठेक्का हस्तान्तरणको काममा ढिलाइ भएको महर्जनले बताए । उनले चालू आर्थिक वर्षभित्र ठेक्का दिइ सडक विस्तारको काम शुरु गर्ने बताए । ‘कोभिडका कारण मूल्यांकनको काम हुन सकेको थिएन, अब यही चालू आर्थिक वर्षभित्र दुबै प्याकेजमा काम शुरु गरिने छ,’ महर्जनले भने ।

 

मुग्लिन–पोखरा सडक विस्तारको काम दुई चरणमा गर्न लागिएको छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा र दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक विस्तार गरिने छ ।

 

हाल पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा खण्ड निर्माणका लागि प्रस्तावपित ठेक्काको सम्झौता भइसकेको छ । आगामी सन् २०२५ सम्ममा निर्माण पूरा गर्ने लक्ष्य सहित पहिलो चरणमा आँबुदेखि पोखरासम्मको ८०.३३ किलोमिटर सडक खण्डमा काम शुरु गरिने भएको छ । पहिलो चरणको डीपीआर क्यानेडी कम्पनीले बनाएको थियो ।

 

दोस्रो प्याकेज मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडकमा भने ठेक्का मूल्यांकनको चरणमा रहेको छ । ७ वटा विदेशी कम्पनीले आवेदन दिएकामा मूल्यांकन पछि एक जना छनोट गरिने छ । सो प्याकेजमा समेत यही आर्थिक वर्ष भित्र काम शुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

 

मुग्लिन-आँबुखैरेनी खण्डको पनि डीपीआर पूरा

 

यस्तै, दोस्रो चरणमा मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडक खण्डको डीपीआर पूरा भएको छ । उक्त खण्डको डीपीआर परामर्शदातालाई बुझाइएको छ । उक्ता डीपीआर स्वीकृत भएपछि ईआइए तथा अन्य अध्ययनका कामहरु बाँकी रहेको छ ।

 

सो डीपीआर स्वीकृत हुन अझै समय लाग्ने र त्यसपछि मन्त्रीस्तरमा पनि पेस गर्नुपर्ने हुँदा त्यसमा अझै थप समय लाग्न सक्ने अनुमान गरिएको छ । आँबुखैरेनीदेखि मुग्लिनसम्म ८.२५ किलोमिटर लम्बाइ रहेको छ । दोस्रो चरणको डीपीआर कोरियन कम्पनीले बनाएको हो ।

 

एडीबीको झण्डै २२ अर्ब ऋण सहयोगमा सो सडक खण्डलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । यस आयोजनामा नेपाल सरकारको १५ करोड रुपैयाँ लगानी लाग्ने छ । मुग्लिनदेखि पोखरासम्मको सडक खण्डमा बजार क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेनमा सडक विस्तार गरिनेछ ।

 

साथै दमौलीस्थित मादी नदीमा ४ लेनको पुल र पोखरास्थित सेतीनदीमा २ लेनका नयाँ पुल बनाइने छ  । यी ठूला पुलहरु पर्यटकीय गन्तव्य स्थल हुने गरी निर्माण गरिने बताइएको छ । यसैगरी अन्य ८ पुल पनि बनाइने छ ।

 

सो खण्डमा ६२ पाइप कल्भर्ट, २ सय ३० स्ल्याब कल्भर्ट, ८ मुख्य पुल (नयाँ) र ३१ साना पुलबाट वारपार नाला बनाइने छ । हाल करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खण्डको यात्रा विस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।

बागमती प्रदेशका जिल्लामा ट्रायल परीक्षा शुरु Read Previous

बागमती प्रदेशका जिल्लामा ट्रायल परीक्षा शुरु

आकाशेपुल निर्माण र मर्मतलाई तीव्रता दिँदै काठमाडौं महानगर Read Next

आकाशेपुल निर्माण र मर्मतलाई तीव्रता दिँदै काठमाडौं महानगर