नेप्सेद्धारा निफ्रा र चन्द्रागिरीको कारोबार समूह हेरफेर, अब कुन समूहबाट हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चन्दागिरी हिल्सको कारोबार समूह हेरफेर गरेको छ ।

 

आइतबारदेखि लागू हुने गरी नेप्सेले यसअघि अन्य समूहमा रहेको निफ्रालाई लगानी समूहमा राखेको छ । यसैगरी, यसअघि अन्य समूहमा रहेको चन्द्रागिरी हिल्सलाई होटल तथा पर्यटन समूहमा राखेको छ ।

 

नेप्सेका अनुसार फागुन ७ गते नेप्सेको व्यवस्थापनले गरेको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरी केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गरिएको हो ।

 

नेप्सेले ‘लगानी’ नामक नयाँ समूह थपेको छ भने होटल समूहको नाम परिवर्तन गरी होटल तथा पर्यटन बनाएको छ । नेप्सेका अनुसार अब लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीलाई राखिएको छ ।

 

यसैगरी, चन्द्रागिरी हिल्स सहित यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल होटल तथा पर्यटन समूहमा कारोबार हुने भएको छ ।

 

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समूह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।

 

कछुवाको गतिमा मध्यपहाडी लोकमार्ग, १३ वर्षमा आधा मात्र काम पूरा Read Previous

कछुवाको गतिमा मध्यपहाडी लोकमार्ग, १३ वर्षमा आधा मात्र काम पूरा

नेपाल अतिकम विकसितबाट 'विकासशील मुलुक'मा उक्लिँदा के फाइदा, के घाटा ? Read Next

नेपाल अतिकम विकसितबाट 'विकासशील मुलुक'मा उक्लिँदा के फाइदा, के घाटा ?