काठमाडौं । अब सञ्चार माध्यमहरुले प्राथमिक साधरण सेयर (आइपीओ) को नतिजा आफ्नो वेबसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन् ।
लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले आइपीओको नतिजा सञ्चार माध्यमलाई उपलब्ध नगराउने निर्णय गरेको हो ।
सीडीएससीले सम्पूर्ण धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकहरुलाई आइपीओको नतिजा संचारमाध्यमलाई उपलब्ध नगराउन पत्राचार समेत गरेको छ ।
यसअघि कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएपछि त्यसको नतिजा संचार माध्यमहरु (विशेषगरी अनलाइनहरु)लाई उपलब्ध गराउँदै आइएको थियो । संचारमाध्यमले पनि आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गर्दै आएका थिए ।
संचारमाध्यममै लगानीकर्ताको व्यक्तिगत विवरण सजिलै हेर्ने सकिने भएपछि गोपनियता असुरक्षित भएको भन्दै लामो समयदेखि यस व्यवस्थाको विरोध हुँदै आएको थियो ।
यो नियम शुक्रबार बाँडफाँट हुने महिला लघुवित्तको आइपीओमा पनि लागू हुने बताइएको छ ।
अब कहाँबाट हेर्ने आइपीओको नतिजा ?
सीडीएससीका अनुसार अब लगानीकर्ताले ३ ठाउँबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । अब निष्काशन तथा विक्री प्रवन्धक, मेरो सेयर र सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै आइपीओको नतिजा हेर्न सकिने सीडीएससीले जनाएको छ ।
संचार माध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने व्यवस्था गरेसँगै मेरो सेयर क्षमता अभिवृद्ध गर्न लागिएको सीडीएससीले जनाएको छ ।
हाल रियल टाइममा एकैसाथ ७० हजार जनासम्मले मेरो सेयर लगइन गर्न सक्ने जनाइएको छ ।