१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता प्रक्रिया शुरु, कम्तीमा १० डलर आइपीओ हाल्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकको तर्फबाट बिहीबार हस्ताक्षर भएको हो ।

 

सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी र चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

 

कार्यक्रममा संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिकरुपमा मिलेको सहमतिले गैरआवासीय नेपालीलाई उत्साहित बनाएको उनको भनाइ थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए ।

 

नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको भन्दै उनले यो शुरुआतले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए। संरक्षक लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे । नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्नसक्ने बताए।

 

१० अर्ब रुपैयाँको कोषमा सरकारले ५ प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको छ । यस्तै संस्थापककोतर्फबाट १० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए ।

 

यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतिक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आइपीओ जारी गरिने जानकारी गराए ।

कान्ति भैरव माविकाे नयाँ भवन शिलान्यास, ३० कराेड लगानी Read Previous

कान्ति भैरव माविकाे नयाँ भवन शिलान्यास, ३० कराेड लगानी

ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट पाउने Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट पाउने