इन्फ्रास्ट्रक्चर बैंकले बनायो ऐतिहासिक रेकर्ड, ५ दिनमै ‘खर्बपति’ क्लबमा प्रवेश

काठमाडौं । नेपाल इन्फ्रस्ट्रक्चर बैंकले नेपाली सेयर बजारमा सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गर्ने रेकर्ड बनाएको छ । यसैसाता आइतबारदेखि कारोबारमा आएको बैंकले ५ दिनमै बजार पूँजीकरण १ खर्ब बढी पुर्याएर नयाँ रेकर्ड बनाएको हो ।

 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने इन्फ्रास्ट्रक्चर बैंक पहिलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीको ५ महिनामा बजार पूँजीकरण १ खर्ब नाघेको थियो ।

 

नेप्सेमा कुल २० करोड कित्ता सेयर सूचीकृत भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ दिनमै २०५ रुपैयाँले बढेसँगै बजार पूँजीकरण १ खर्ब नाघेको हो ।नेप्सेका अनुसार बिहीबार बैंकको पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

 

आइतबार प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको हरेक दिन सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दै आएको छ अर्थात् सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकले १ महिना अघि ८ करोड रुपैयाँ बराबरको आइपी जारी गरेको थियो ।

 

इन्फ्रास्ट्रक्चर बैंक समग्रमा १ खर्ब बढी बजार पूँजीकरण हुने आठौं कम्पनी बनेको छ भने बैंकिङ क्षेत्रमा चौथो बैंक बनेको छ । हाल नेप्सेमा सूचीकृत २२५ बढी कम्पनीमध्ये बजार पूँजीकरण खर्बबढी हुने कम्पनीको संख्या ८ रहेको छ ।

 

नेप्सेमा खर्बपति कम्पनीको रुपमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, नबिल बैंक, एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

फास्ट ट्रयाकको सुरुङ निर्माण  ‘प्रि क्वालिफाइड’ प्रक्रिया बारे अनियमिताको उजुरी Read Previous

फास्ट ट्रयाकको सुरुङ निर्माण ‘प्रि क्वालिफाइड’ प्रक्रिया बारे अनियमिताको उजुरी

खुलामञ्चमा राखिएका सामग्री हटाउँदै महानगर Read Next

खुलामञ्चमा राखिएका सामग्री हटाउँदै महानगर