नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा किन आयो ह्वात्तै गिरावट ?

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । यससाता पछिल्ला दुई दिन लगातार नयाँ रेकर्ड कायम गरेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे २ अर्बले घटेको छ ।

 

प्रफिट बुक गर्ने हाबी हुँदा कारोबार रकममा गिरावट आएको लगानीकताको आँकलन छ । यस्तै, बुल ट्रेन्डमा रहेको बजारमा करेक्शन आउँदा सेयर बेच्ने कम हुँदा पनि कारोबार रकम घटेको हो ।

 

यस्तै, आज दिउँसो करिब आधा घण्टा नेप्सेको टीएमएस सिस्टममा समस्या आउँदा पनि कारोबार रकम घट्न पुगेको हो । बजार करेक्शन हुँदा कारोबार पनि घट्नु स्वभाविक नै रहेको लगानीकर्ताहरुको भनाइ छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २९।०१ अंकले घटेर २५३२.४६ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १९२ कम्पनीको ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ हजार ८५ हजार १९८ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये विकास बैंक र फाइनान्स बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २७४.०३ अंकले घटेको छ भने विकास बैंक २५.५२ अंकले बढेको छ ।

 

कारोबारमा आएका १९२ कम्पनीमध्ये जम्मा ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा ग्रामीण विकास लघुवित्त परेको छ । यसको सबैभन्दा धेरै २८ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै प्रभु बैंक २४ करोड र ग्लोबल आइएमई बैंक १९ करोडसहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स,समृद्धि फाइनान्स र लुम्बिनी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.८२ प्रतिशत गुमाएका छन् ।

घलेम्दी जलविद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडियो, कम्पनीको आम्दानी बढ्ने Read Previous

घलेम्दी जलविद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडियो, कम्पनीको आम्दानी बढ्ने

महासंघको बैंक, वित्तीय तथा बीमा समिति विस्तार Read Next

महासंघको बैंक, वित्तीय तथा बीमा समिति विस्तार