लघुवित्तमा उछाल आउँदा नेप्सेले बनायो रेकर्डै रेकर्ड, यी ३० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । माइक्रोफाइनान्स समूहमा उछाल आउँदा सेयर बजारले नयाँ रेकर्डै रेकर्ड बनाएको छ ।

 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढ्दा एकैदिन ३ वटा नयाँ रेकर्ड बनेका हुन् । आज एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र हालसम्मकै धेरै बजार पूँजीकरणको रेकर्ड बनाएको छ ।

 

गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

 

नेप्सेले २५२४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २५०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि बिहीबार (माघ २२ गते) नेप्सेले इतिहासकै उच्च २४७५.२७ विन्दु पार गरेको थियो ।

 

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन एकै दिन सर्वाधिक कारोबारको रेकर्ड पनि बनाएको छ । सेयर बजार इतिहासमै एकदिन १० अर्ब ४४ करोडको कारोबार हुँदै नयाँ इयतहास रचेको हो । एकै दिन १० अर्ब बढीको कारोबार भएको यो इतिहासमै पहिलो पटक हो । यसअघि माघ १५ गते सर्वाधिक ९ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको थियो ।

 

यस्तै, आज बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ६५ अर्बले बढेर ३४ खर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो । नेप्सेका अनुसार आइतबार सूचीकृत कम्पनीको बजार पूँजीकरण ३३ खर्ब ९९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४८.९७ अंकले बढेर २५२४.२३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७२.११ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा ४९० अंक र माइक्रोफाइनान्स समूह ३३४ अंकले बढेको छ । बैंकिङ समूह ३.७१ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०२ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा हिमालय डिस्ट्रीलरी परेको छ । यसको सबैभन्दा धेरै ५३ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ र शिखरइन्स्योरेन्स समान ३१/३१ करोडको कारोबारसहित शीर्ष तीनमा रहे ।

 

आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिएका छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीले गत वर्षको नाफाबाट आकर्षक लाभांश र वित्तीय विवरण सार्वजनिक गरिरहेकाले लगानीकर्ता यस क्षेत्रमा आकर्षित भएका हुन् ।

 

यी हुन आज पोजेटिभ सर्किट लाग्ने कम्पनीहरु

 

उच्च अंकले बढेको बजारमा आज करिब ३ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

 

गणपति, डेप्रोक्स, आरएसडीसी, गणपति, मेरो, निर्धन लघुवित्त, मञ्जुश्री फाइनान्स र नागरिक लगानी कोषका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, आरम्भ चौतारी, समिट, साधना, सपोर्ट, मिथिला ग्लोबल आइएमई, सूर्योदय, महुली सामुदायिक, किसान, एनएमबी, इन्फिनिटी र सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

यसैगरी, उन्नति सहकार्य, सिभिल, ग्रामीण विकास लघुवित्त, फस्र्ट, छिमेक, जनउत्थान लघुवित्त, हिमालयन पावर, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी, पाँचथर पावर, सिनर्जी पावर, छ्याङ्दी हाइड्रोपार पावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएक छन् ।

 

दोहोरो अंकले बढेको बजारमा आज नेपाल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.२७ प्रतिशत गुमाएका छन् ।

एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै विराटनगर महानगर Read Previous

एकैसाथ तीन आकाशे पुल निर्माण गर्दै विराटनगर महानगर

४२ वर्षपछि फेवातालको बाँध मर्मत, तालको पानी १ मिटर घटाइयो Read Next

४२ वर्षपछि फेवातालको बाँध मर्मत, तालको पानी १ मिटर घटाइयो