ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आज कार्यालय समयदेखि विक्री खुला हुने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको हो ।

 

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

 

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।

 

कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ३२ करोड ५१ लाख ६५२ कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा करिब १५ लाखले आवेदन दिँदै आएका छन् ।

 

सो आधारमा १० कित्ता पाउन पनि भाग्कै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्तँका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

 

२ अर्ब ५० करोड जारी पूँजी रहेको कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । थप पूँजी वृद्धि गर्न कम्पनीले ३४ करोड ९६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

 

आइपीओ पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ भने सर्वसाधरणको २० प्रतिशत रहनेछ ।

 

रन अफ रिभर आयोजना अन्तर्गत कम्पनीले ४० मेगावाटको आयोजना बनाइरहेको छ । जसमा दोलखाको गौरीशंकर गाउँपालिकाको खानी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ भने हनापु खोला र नाप्के खोलामा थप १५ मेगावाटको आयोजना बनाउने छ ।

 

आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १९ करोड १३ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधरण लगानी फिर्ता हुने समयवधि ८.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष रहेको छ ।

 

आव २०७६/७७ मा कम्पनीको प्रतिसेयर आम्दानी १.४१ रुपैयाँ ऋणत्मक हुने प्रक्षेपण गरिएको छ भने प्रतिसेयर नेटवर्थ ९८.३३ रुपैयाँ हुनेछ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न अवस्था औसतभन्दा कम रहेको जनाउँदछ।

 बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन अर्थमन्त्री पौडेलको निर्देशन Read Previous

 बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन अर्थमन्त्री पौडेलको निर्देशन

महिला लघुवित्तको आइपीओ निष्काशन मिति पछि सर्‍यो, अब कहिलेदेखि खुल्छ ? Read Next

महिला लघुवित्तको आइपीओ निष्काशन मिति पछि सर्‍यो, अब कहिलेदेखि खुल्छ ?