काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २३ गते (शुक्रबार) देखि ३५ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।
सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था
२ अर्ब ५० करोड जारी पूँजी रहेको कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । थप पूँजी वृद्धि गर्न कम्पनीले ३४ करोड ९६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओ पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ भने सर्वसाधरणको २० प्रतिशत रहनेछ ।
रन अफ रिभर आयोजना अन्तर्गत कम्पनीले ४० मेगावाटको आयोजना बनाइरहेको छ । जसमा दोलखाको गौरीशंकर गाउँपालिकाको खानी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ भने हनापु खोला र नाप्के खोलामा थप १५ मेगावाटको आयोजना बनाउने छ ।
आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १९ करोड १३ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधरण लगानी फिर्ता हुने समयवधि ८.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष रहेको छ ।
आव २०७६/७७ मा कम्पनीको प्रतिसेयर आम्दानी १.४१ रुपैयाँ ऋणत्मक हुने प्रक्षेपण गरिएको छ भने प्रतिसेयर नेटवर्थ ९८.३३ रुपैयाँ हुनेछ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न अवस्था औसतभन्दा कम रहेको जनाउँदछ।