राजनीतिक तरंगले सेयर बजारमा तीव्र उतरचढाव, यी ४ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । राजनीतिक तरंगले सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले भोली आम हड्ताल घोषणा गरेसँगै बजारमा त्यसको प्रभाव देखिएको छ ।

 

कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसयता आन्दोलित हुँदै आएको यस समूहले भोलि आमहड्ताल घोषणा गरेको हो । देशको राजनीतिक अस्थिर हुने देखिँदा लगानीकर्ता मनोवैज्ञानिक प्रभाव पर्दा बजारमा तीव्र हलचल देखिएको हो ।

 

सेयर बजारलाई प्रभाव पर्ने बैंक ब्याजदर, ठोस नीति तथा कार्यक्रममा कुनै परिवर्तन आउने सम्भावना नभए पनि राजनीतिक अस्थिरता आउने देखिँदा लगानीकर्ता अस्थिर हुन थालेको देखिन्छ । जसको प्रभाव आज बजारमा देखिएको हो ।

 

बजार खुल्न साथ करिब ४६ अंकले बढेको बजार अन्त्यमा ६ अंकले घटेर बन्द भएको हो । मंगलबार ६५ अंकले बढेर नेप्से इतिहासकै उच्च २४७३.७४ विन्दुमा पुगेको थियो ।

 

सूचमा सामान्य गिरावट आए पनि कारोबार रकमले भने दोस्रो धेरै कारोबारको रेकर्ड बनाएको छ । आज ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो सेयर बजार इतिहासमै दोस्रो धेरै हो । यसअघि माघ १५ गते इतिहासकै सर्वाधिक ९ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६.८१अंकले घटेर २४६६.९२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको ८ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँ बराबरको २ करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली आएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर मसूह सबैभन्दा धेरै १९.७९ अंकले बढेको छ भने जीवन बीमा समूह १९७.०६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०२ कम्पनीमध्ये जम्मा ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता ग्लोबल आइएमई बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ६० करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३४ करोड र अरुण काबेली ३४ करोड सहित शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वाभिमान लघुवित्त, जनउत्थान लघुवित्त, उन्नति सहकार्य लघुवित्त र महुली सामुदायिक लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । पोखरा फाइनान्सका सेयरधनीले भने सबैभन्दा धेरै ७.८८ प्रतिशत गुमाएका छन् ।

विश्वकै दोस्रो धनी अमेजनका सीईओ जेफ बेजोसद्वारा राजीनामा घोषणा, यस्तो छ कारण Read Previous

विश्वकै दोस्रो धनी अमेजनका सीईओ जेफ बेजोसद्वारा राजीनामा घोषणा, यस्तो छ कारण

लक्ष्मी र श्री स्टिलले घटाए डण्डीको मूल्य, प्रतिकिलो कति घट्यो ? Read Next

लक्ष्मी र श्री स्टिलले घटाए डण्डीको मूल्य, प्रतिकिलो कति घट्यो ?