काठमाडौं । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार ल्याएको बजेट अनुसार नेपालले आउने अनुदान करिब पौने २ अर्ब रुपैयाँले बढेको छ ।
वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको बजेट अनुसार नेपालले आर्थिक वर्ष २०२१/२२ मा १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) अनुदान पाउने छ ।
यो चालू आवको भन्दा १ अर्ब ८० करोड रुपैयाँ (१ अर्ब १२ करोड भारु) बढी हो । गत आर्थिक वर्ष २०२०/२१ को बजेटमा भारतले नेपाललाई १४ अर्ब ८ करोड रुपैयाँ (८ अर्ब ८० करोड भारु ) अनुदान विनियोजन गरेको थियो ।
भुटानलाई सबैभन्दा धेरै अनुदान
भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा धेरै रकम भुटानलाई छुट्टयाएको छ ।
आव २०२१/२२ मा भारतले भुटानलाई ३० अर्ब ४ करोड भारु अनुदान छुट्याएको छ । आव २०२०/२१ मा भने भुटानले २२ अर्ब ६१ करोड अनुदान पाएको थियो ।
यसैगरी, भारतले दक्षिण एशियाली देशहरु अफगानिस्तानलाई ३ अर्ब ५० करोड भारु, बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई समान २/२ अर्ब, र माल्दिभ्सलाई २ अर्ब ५० करोड भारु अनुदान छुट्याएको छ ।