काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक प्रगति विवरण सार्वजनिक गरिरहँदा पनि सेयर बजारले गति लिन सकेको छैन् । साउनलागे सँगै सेयर बजारले फड्को मार्ने आशा गरेका लगानी कर्ताहरु निरन्तर बजार ओरालो लाग्न थालेपछि झन् निराशावादी बन्दै गएका छन् ।
पछिल्लो चार दिनमा मात्र नेप्सेमा २० अंकले गिरावट आएको छ । मंगलबार सेयर बजार मापक परिसूचक नेप्से ९.३६ अंकले घटेर १२४५.७३ अंकमा आइपुगेको छ ।
आज १६९ कम्पनीको ४५ करोड ७ लाख ५५ हजार १८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १४ लाख ४९ हजार ६९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ४०.९७ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक ९.३६ अंकले ओरालो लागेको छ ।
कारोबार रकममा कृषि विकास बैंक अग्रस्थानमा छ । यसको ८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र एनआइसी एसिया बैंक परेका छन् ।
मंगलबार सबैभन्दा धेरै जोशी हाइड्रोपावरको मूल्य २.७४%ले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १०% ले घटेको छ ।
