नाघ्यो २१ दिने म्याद, उखु किसानको २० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी

काठमाडौं । चिनी उद्योगीहरुले उखु किसानको बक्यौक्ता रकममध्ये ५१ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल ७० करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकोमा ५१ करोड रुपैयाँ मात्र भुक्तानी भएको हो ।

 

बाँकी २० करोड ९५ लाख रुपैयाँ अझै चिनी मिलहरुले भुक्तानी गरेका छैनन् । सो मध्ये श्रीराम सुगर मिलले उखु किसानको सबै रकम भुक्तानी गरेको दाबी गरेको छ । श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ । बाँकी ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको श्रीराम मिलले जनाएको छ ।

 

भुक्तानी गर्न बाँकी रहेका ४ मिलमध्ये अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले भने हालसम्म पुरा भुक्तानी गरेका छैनन् ।

 

लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ । उक्त उद्योगले थप ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको छ ।

 

अन्नपूर्ण र इन्दिरा मिलले भने किसानको भुक्तानी गर्न अझै बाँकी रहेको छ । अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बाँकी छ ।

 

यसैगरी इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ । अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

 

सर्लाहीमा रहेको अन्नपूर्ण र नवलपरासीको इन्दिरा सुगर मिलले कुल २२ करोड रुपैयाँ बढि भुक्तानी गर्न बाँकी रहेको थियो । अन्नपुर्ण र इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवालले हालसम्म कुल १२ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।

 

अन्नपुर्ण र इन्दिरा चिनी मिलका सञ्चालक अग्रवालले दैनिक १ करोड रुपैयाँ उखु किसानको खातामा भुक्तानी गर्ने बताएका थिए । उनले गत पुस ७ गते विज्ञप्ती जारी गर्दै भुक्तानी गर्ने जनाएका थिए ।

 

सरकारले गत पुस १३ गते चिनी मिल र उखु किसानबीच २१ दिन भित्र भुक्तानी गर्ने गरी सम्झौता गराएको थियो । माघ ५ गते २१ दिन पुरा भएको छ । तर आजसम्म किसानको रकम पुरा भुक्तानी हुन सकेको छैन ।

 

मन्त्रालयका प्रवक्ता नारायण प्रशाद रेग्मीले उखु किसानको रकम भुक्तानी भइरहेको बताएका छन् । उनले सबै चिनी मिलहरुले उखु किसानको रकम भुक्तानी गरिरहेको बताए ।

 

‘चिनी उद्योगीहरुले उखु किसानको पैसा तिरिरहेका छन् तर सबैले पुरै पैसा तिर्न भने अझै सकेका छैनन्,’ रेग्मीले चाणक्यपोष्टसँग भने ।
५ वर्ष यता उखु किसानहरुले उखुको मूल्य पाउन प्रत्येक वर्ष काठमाडौँं धाउनु परेको छ ।

 

यो वर्ष उद्योगीहरुकै मिलेमतोमा किसानले बेच्ने उखुको मूल्य प्रति क्विन्टल ५ सय ४४ रुपैयाँ मूल्य निर्धारण गरियो । तर, आजसम्म पनि निधारण गरिएको मूल्य किसानले समयमै पाउन सकेका छैनन् ।

 

किसानको भुक्तानीका लागि सिधै बैंक खातमा जाने व्यवस्था मिलाएको भए पनि रकम भुक्तानी नगर्नेलाई सरकारले प्रभावकारी ढंगले कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

 

उखुमा मात्र नभई मल, बीउ, हरेक क्षेत्रमा सधै किसान पिडित हुनु परेको र ठगिने गरेका छन् । यस विषयमा राज्य जवाफदेहि हुन सकेको छैन ।

विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा, गाउँका अरु युवालाई पनि प्रेरणा Read Previous

विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा, गाउँका अरु युवालाई पनि प्रेरणा

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल Read Next

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल