३ दिनमा कतिले भरे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको नेपाली सेयर बजारको हालसम्मकै सबैभन्दा ठूलो आइपीओमा ३ दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

 

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार ४ः३० बजेसम्म ८ लाख २ हजार ७०८ जनाले ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।

 

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको छ ।

 

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।बैंकको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

 

कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।

 

कति कित्ता भर्नु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याएको छ । यसअघि खुलेका आइपीओमा साढे १२ लाखले आवेदन दिँदै आएका छन् । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ । यसआधारमा करिब १५ लाख जनाले आइपीओ भर्ने आँकलन गरिएको छ ।

 

त्यस अनुसार बैंकको आइपीओ सबैलाई समानुपातिक रुपमा बाँड्दा ५० कित्ता पाउने सम्भावना देखिन्छ । तर, सबै आवेदकले ५० कित्ताका लागि आवेदन नगर्न पनि सक्छन् । त्यसैले बैंकको आइपीओमा न्यूनतम ५० देखि ८० कित्ता अर्थात् ५ हजारदेखि ८ हजार रुपैयाँ बराबरको आवेदन दिनु उपयुक्त देखिन्छ ।

चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुँदैछ बाँडफाँट ? Read Previous

चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुँदैछ बाँडफाँट ?

कोटेश्वर-जडीबुटी सडक विस्तार अघि बढ्यो, असारसम्म काम सक्नेगरी ८ करोडमा ठेक्का Read Next

कोटेश्वर-जडीबुटी सडक विस्तार अघि बढ्यो, असारसम्म काम सक्नेगरी ८ करोडमा ठेक्का