
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याउने भएको छ ।
बैंकले भोलि (माघ २ गते) ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।
निष्काशन हुने कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेका छन् ।
बैंकको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी-आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउँछ ।
धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक रुपमा सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय खुलेका आइपीओमा साढे १२ लाखभन्दा बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा बैंकको आइपीओमा आवेदन गर्नेले कम्तीमा ६० कित्ता सेयर पाउने देखिन्छ । यद्यपि, आवेदकको संख्या थपघटमा भएमा पाउने सेयर कित्ता पनि थपघट हुनेछ ।
कम्पनीको वित्तीय अवस्था
बैंकको अधिकृत पूँजी ३४० अर्ब, जारी पूँजी २० अर्ब र हाल चुक्तापूँजी १२ अर्ब रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०:४० प्रतिशत हुनेछ ।
बैंकले चालू आवको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा १२.४३ प्रतिशतले कमी हो । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड ५७ लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १८ करोड १ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।बैंकले २८ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ ११३.६२ रुपैयाँ रहेको छ ।
बैंकको व्यवसाय
नेपालमा रहेका मध्ये सबैभन्दा धेरै पूँजी भएको यो बैंक ठूला पूर्वाधारहरुमा लगानी गर्ने उद्देश्यका साथ खोलिएको हो । बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ ।
बैंकले हालसम्म एक सोलार परियोजना, ४ वटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित ८ परियोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरिसकेको छ । जसमध्ये १ अर्ब १२ करोड लगानी भइसकेको छ ।
बैंकले आफ्नो पहिलो लगानी कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती जलविद्युत परियोजनामा गरेको छ ।