काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् ।
हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटे सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताए ।
उनले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिए ।
मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिए ।
मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए ।
यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।