सिंगटी हाइड्रोको साढे ४३ करोडको आइपीओ आउँदै, बोर्डबाट पायो निष्काशन अनुमति

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ)को बाढी लागेको छ । विभिन्न बीमा कम्पनी, माइक्रोफाइनान्स, हाइड्रोपावर लयागत कम्पनीले थप पूँजी जुटाउन धमाधम आइपीओ जारी गर्न लागेका हुन् ।

 

चालू आर्थिक वर्षको ५ महिनामा मात्रै करिब १ दर्जन कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएका छन् भने डेढ दर्जन बढी पाइपलाइनमा रहेका छन् । अनुमति पाएका मध्ये आधादर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने दुई कम्पनीले अर्को साता जारी गर्दैछन् ।

 

यसैबीच, सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले सिंगटी हाइड्रोलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न पुस २१ गते अनुमति दिएको हो ।

 

कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख कित्ता आइपीओ विक्री गर्नेछ ।

 

कम्पनीले ढिलोमा अबको दुई महिनाभित्र आइपीओ जारी गरिसक्नु पर्नेछ । कानुनी व्यवस्था अनुसार बोर्डबाट अनुमति पाएको २ महिना भित्र सेयर जारी गरिसक्नु पर्ने व्यवस्था छ ।हाइड्रोले यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

 

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आइपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कम रहेको जनाउँदछ ।

 

सिंगटी हाइड्रोले दोलखाको सिँगटी खोलामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

लिगलिगकोटमा ७ करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा Read Previous

लिगलिगकोटमा ७ करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा

एकाध घण्टा कहीँकतै बिजुली जाँदैमा त्यसलाई लोडसेडिङ नभनौं : विद्युत् प्राधिकरण Read Next

एकाध घण्टा कहीँकतै बिजुली जाँदैमा त्यसलाई लोडसेडिङ नभनौं : विद्युत् प्राधिकरण