डेढ वर्षमा पनि बनेन बानेश्वरको आकाशे पुल, कोटेश्वरको अझै बन्ने टुंगो छैन

काठमाडौं । सडक डिभिजन कार्यालयले गत आवमै सम्पन्न गर्ने लक्ष्य राखेको बानेश्वरको आकाशे पुल अझै बन्न सकेको छैन । कोरोनाका कारण कारदारअभाव भएको भन्दै ठेकेदारले काममा ढिलाइ गर्दा सो पुल समयमै सम्पन्न हुन नसकेको हो ।

 

डिभिजनले गत वर्ष २०७६/७७ मा नयाँ बानेश्वर र कोटेश्वर चोकमा आकाशे पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरेको थियो । अहिले बानेश्वरमा निर्माण भइरहेको पुलको पिलर बनाउने काम भइसकेको छ । कोटेश्वरमा भने विवादका कारण अझैसम्म कामले गति लिन सकेको छैन ।

 

बानेश्वरको आकाशे पुल निर्माणका लागि स्टीलका पार्टहरु बनाउने कर्मचारी नहुँदा निर्माणमा ढिलाइ भएको डिभिजनका सूचना अधिकारी सृजना अधिकारीले बताइन् ।

 

उनले आकाशे पुल बनाउन स्टीलको पार्टपूर्जा बनाउने काम भइरहेको बताइन । हाल केही कर्मचारीहरुले स्टील पार्टपूर्जा बनाउने काम गरिरहेका छन् । सो पार्टपूर्जा बनेपछि पुलमा फलाम जडान गर्ने काम मात्र बाँकी रहने उनले बताइन् । सो कामका लागि अझै २ महिना लाग्ने उनले बताइन् ।

 

‘अहिले फलाम तथा स्टीलको पार्टपूर्जा बनाउने काम भइरहेको छ, यो पूरा भएपछि २ महिनामा निर्माण पूरा हुन्छ होला,’ अधिकारीले भनिन् । सो पुल ३ करोड ५ लाख रुपैयाँमा निर्माण हुँदै छ ।

 

कोटेश्वरमा बनाइने आकाशे पुलको विवाद भने अझै सुल्झिन सकेको छैन । आकाशे पुल निर्माणका क्रममा एयरपोर्ट जग्गा समेत मिचेर हवाइ जहाज आउने क्रममा आकाशे पुलले समस्या दिने भएपछि सो पुल निर्माणको टुंगो नलागेको हो ।

 

कोटेश्वरमा पुल निर्माण गर्ने कि नगर्ने अझै निश्चत नभएको अधिकारीले बताइन् । ‘कोटेश्वरमा बनाइने आकाशे पुलले जहाज ल्याण्डीङमा समस्या ल्याउन सक्ने देखिएको छ, त्यसले गर्दा नि बनाउने कि नबनाउने अझै निश्चित भइसकेको छैन,’ अधिकारीले भनिन् ।

पर्यटकको चहलपहल बढेसँगै सञ्चालनमा आउन थाले रसुवाका होटल Read Previous

पर्यटकको चहलपहल बढेसँगै सञ्चालनमा आउन थाले रसुवाका होटल

लिगलिगकोटमा ७ करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा Read Next

लिगलिगकोटमा ७ करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा