काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर आइपीओ) नेपाल स्टक एक्सचेन्ज नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले शुक्रबार सर्वसाधरणतर्फको ६० लाख कित्ता र संस्थापकतर्फको १ करोड ४० लाख गरी कुल २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै प्रभु लाइफको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०९.५६ रुपैयाँ देखि ३२८.६८ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।
कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा १० लाख ५१ हजार २१६ आवेदकले २ करोड ७८ लाख २१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए भने भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए । ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको थियो ।
यसअघि १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।