सेयर बजार बढ्दा सरकार पनि मालामाल, १३ गुणा बढी राजश्व संकलन

काठमाडौं । चालू आर्थिक वर्ष शुरू भए यता सेयर बजार निरन्तर उकालो लागेको छ । करिब ४ वर्ष लामो बियरिस ट्रेन्डमा रहेको सेयर बजारले पछिल्लो समय बुल ट्रेन्ड समातेको आँकलन गरिएको छ ।

 

चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म (५ महिना) को अवधि मात्रै नेप्से सूचक करिब ८०० अंकले बढेको छ ।यस अवधिमा लगानीकर्ताको सम्पत्ति करिब ५ खर्बभन्दा धेरैले बढीसकेको छ । साउनमा करिब २२ खर्ब रहेको बजार पूँजीकरण अहिले बढेर २७ खर्ब पुगेको छ ।

 

गत आवको तुलनामा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।

 

निरन्तर सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि अधिक फाइदा भएको देखिएको छ । चालू आवको ५ महिनामा सरकारले गत वर्षको सोही अवधिको तुलनामा करिब १३ गुणा बढी कर संकलन गरेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सरकारले चालू आवको ५ महिनाको अवधिमा सेयर कारोबारबाट ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ कर संकलन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२६५ प्रतिशत बढी हो ।

 

गत आवको मंरिसम्ममा जम्मा २४ करोड ५१ लाख राजश्व संकलन भएको थियो । जसमा पूँजीगत लाभकरबापत २० करोड ३२ लाख र अग्रिम कर कट्टीबापत ४ करोड १९ लाख कर संकलन भएको थियो ।

 

चालू आवको ५ महिनामा पूँजीगत लाभकर बापत २ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ र अग्रिम करकट्टी बापत ३६ करोड ७७ लाख रुपैयाँ कर संकलन भएको छ ।

 

चालू आवको ५ महिनामा सेयर कारोबारबाट सबैभन्दा धेरै राजश्व मंसिरमा उठेको छ । यस महिनामा पूँजीगत लाभकर बापत १ अर्ब ३१ करोड र अग्रिम करकट्टी बापत १५ करोड गरी कुल १ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

 

यसैगरी, साउनमा २६ करोड ४५ लाख पूँजीगत लाभकर र ३ करोड ९२ लाख अग्रिम करकट्टी गरी ३० करोड ३७ लाख, भदौमा ३५ करोड ७२ लाख पूँजीगत लाभकर र ५ करोड ४९ लाख अग्रिम करकट्टी गरी ४१ करोड २१ लाख कर संकलन भएको छ ।

 

यस्तै, असोजमा ४९ करोड ७६ लाख पूँजीगत लाभकर र ७ करोड २६ लाख अग्रिम करकट्टी गरी ५७ करोड २ लाख, कात्तिकमा ३० करोड ७४ लाख पूँजीगत लाभकर र ५ करोड १० लाख अग्रिम करकट्टी गरी ३५ करोड ८४ लाख राजश्व उठेको छ ।

 

के कारणले उच्च दरमा बढ्यो राजश्व

 

गत आवको तुलनामा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।

 

चालू आवको ५ महिनामा आधादर्जन बढी कम्पनीले आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् । जसले सेयर कारोबारका साथै राजश्व समेत बढाउन सहयोग गरेका छन् ।

 

यस्तै गत आवमा दैनिक औसतमा करिब ५० करोड हाराहारीमा कारोबार हुँदै आएको त्यो अहिले करिब १० गुणाले बढैलर दैनिक ५ अर्बभन्दा माथि पुगेको छ । चालू आवमै सेयर बजार इतिहासमा एकैदिन ९ अर्ब २२ करोडको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनाएको थियो ।

 

यस्तै, गत आवको मंसिरसम्ममा करिब १८ हजारले मात्र अनलाइलान कारोबार गर्थे भने अहिले त्यो संख्या बढेर २ लाख बढी पुगेको छ भने ८५ प्रतिशतभन्दा बढीले अनलाइनमार्फत नै कारोबार गर्न थालेका छन् ।

 

सेयर बजार बढेसँगै लगानीकर्ताले नाफा कमाउँदा सरकारले पाउने पूँजीगत लाभकर समेत ह्वात्तै बढेको छ । अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

देशका ५१२ स्थानीय तहमा पुग्यो इन्टरनेटको पहुँच Read Previous

देशका ५१२ स्थानीय तहमा पुग्यो इन्टरनेटको पहुँच

निर्माण सामग्री अभावमा देशभरका सडक निर्माण अवरुद्ध Read Next

निर्माण सामग्री अभावमा देशभरका सडक निर्माण अवरुद्ध