काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । साताको पहिलो दिन आइतबार करिब ४० अंकले घटेको बजार पछिल्ले दुई दिन लगातार उकालो लागेको हो ।
सूचकमा सामान्य सुधार आए पनि पछिल्ला दिनहरुमा कारोबार रकम भने घट्दै गएको छ । गत सातासम्म औसतमा दैनिक ६ अर्बको कारोबार हुँदै आएकोमा यस साता ४ अर्बमा सीमित भएको छ ।
बजारमा प्रफिट बुक गर्नेहरु हाबी हुँदा कारोबार रकम घट्दै गएको अनुमान गरिएको छ । साथै, पछिल्लो समय प्रतिनिधि सभा विघटन भएसँगै राजनीतिक अस्थिरता बढ्ने आँकलन गरिँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले कारोबारमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् ।
सेयर बजार मापक सूचक नेप्से ५.५७ अंकले बढेर २०१२.८९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको ८० लाख १ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक हरियो भएका छन् भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १९५.९ अंकले बढेको छ भने जीवन बीमा समूह ७०.०२ अंकले घटेको छ ।
कारोबारमा आएका २०९ कम्पनीमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ । २८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता नबिल बैंकको सेयरमा झुम्मिएका छन् । गत आवको नाफाबाट ३५.२६ लाभांश घोषणा गरेको बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाले लगानीकर्ता बैंकको सेयरप्रति आकर्षित भएका हुन् । यसको आज सबैभन्दा धेरै ५३ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा शिवम् सिमेन्ट २७ करोड र ग्लोबल आइएमई बैंक २३ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष र नारायणी विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज मल्टि प्रपोज फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।